साहित्य

सत्तरीऔं जन्मदिनमा १४औं कृति

बाबियाचौर, म्याग्दी । म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १४औँ कृति गीतसंग्रह ‘बह’को बिहीबार बेनीमा विमोचन गरिएको छ ।

बेनी नगरपालिका–६ का शर्माले ७०आँै जन्मोत्सवका अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतिको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले विमोचन गरेका हुन ।

यो कृतिमा सामाजिक, राजनीतिक, माया प्रेम र जीवन संघर्षका विषयवस्तुलाई कलात्मकरुपमा प्रस्तुत गरिएको छ । शर्माले विसं २०६२ देखि हरेक जन्मदिनमा कृति प्रकाशन गर्दै आएका छन् । उनले यसअघि कविता संग्रह ‘चिताको काखमा’, ‘आमाको सम्झना’, ‘तस्वीरहरु’, ‘प्रतिच्छाया’ र ‘रक्तरेखा प्रकाशन’ गरेका थिए ।

शर्माद्वारा लिखित कथासंग्रह ‘यौटा कथाको कथा’, गितीकाब्य ‘खोरभित्रको स्वर १ र २,’ ‘कोख र काख’ (खण्डकाब्य), ‘जीवन जेल यात्रा’ (संस्मरण), ‘दृष्टि’ (मुक्तक संग्रह), ‘आक्रान्त आवाज’ (आलेख), ‘यात्राका अनुभूति’ (नियात्रा) प्रकाशन भइसकेका छन् ।

सोही अवसरमा अर्का साहीत्यकार अजयमिलन श्रेष्ठद्वारा लिखित मुक्तक संग्र्रह ‘स्वर्गको टुक्रा’को कृति समीक्षा गरिएको थियो ।

यस मुक्तक संग्रहमा म्याग्दीका छवटा स्थानीय तहका ४५ वटा वडाको प्राकृतिक, जातीय, धार्मिक, पर्यटकीय विशेषतालाई मुक्तकका रुपमा प्रस्तुत गरिएको छ ।