समाचार

चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

रत्ननगर, चितवन । चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ ।

राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल), भरतपुरमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–६ मा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शौचालयमा एक पुरुष मृत भेटिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार स्थानीय ४४ वर्षीय बुद्धि गिरी शौचालयभित्र मृत भेटिए । इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार शौच गर्न गएका बेला एक्कासि ढलेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताए।

लामो समयसम्म ढोका बन्द रहेपछि फोरेर हेर्दा गिरी मृतावस्थामा भेटिए । वन्यजन्तुको आखेटोपहार राखिएको संग्रहालयका पर्यटकका लागि सो शौचालय बनाइएको थियो ।