समाचार

सशस्त्र प्रहरीद्वारा गर्यो सह्रानीय कार्य, सकृयतामा भयो बाटो निर्माण

दार्चुला । सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ ।

चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल गाउँभन्दा ५०० मिटर माथि रहेको उक्त विद्यालयसम्म जाने बाटो भत्केको तथा निकै साँघुरो भएका कारण सानासाना विद्यार्थीलाई हिँडडुल गर्न समस्या भएको थियो ।

सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, महिला र विद्यालयका शिक्षक एकजुट भएर बिहीबार उक्त बाटोलाई फराकिलो पार्नुका साथै विद्यार्थीलाई सहजै हिँडडुल गर्नसक्ने गरी निर्माण गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, चमेलिया जलविद्युत् आयोजना सुरक्षा वेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिएर ५०० मिटर बाटो निर्माण गरेको उनले जानकारी दिए । सशस्त्र प्रहरीले आम नगरिकको सुरक्षा, ठूलठूला आयोजनाको सुरक्षा गर्नुका साथै सामाजिक कार्यसमेत गर्ने गरेको गुल्मपति जोशीले बताए ।

उक्त विद्यालयसम्म जाने बाटो निकै साँघुरो र भत्केका कारण विद्यार्थी जोखिम मोलेर विद्यालय जाँदै आएका थिए । बाटो निर्माण भएसँगै सो विद्यालयका शिक्षक, विद्यार्थी, तथा अभिभावकलाई हिँडडुल गर्न सहज भएको छ । सशस्त्र प्रहरीले विद्यालयसम्म जाने बाटो निर्माण गरी सामाजिक कार्य गरेको भन्दै सो क्षेत्रका स्थानीय खुशी भएका छन् ।

चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै आयोजनाको सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी बलले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको छ ।