स्वास्थ्य

सरकारी अस्पताललाई प्रविधियुक्त बनाइने

काठमाडौँ । मुलुकभरका सरकारी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । वीर अस्पतालमा भइरहेको सरसफाइबारे बुझ्न अस्पताल पुगेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेलन गरी देशभरका सरकारी अस्पताललाई प्रविधियुक्त अस्पतालका रुपमा विकास गरिने बताएका हुन् । “१२८ वर्ष पुरानो वीर अस्पतालबाट सरसफाइ शुरु गरेका छौँ, देशभरका सबै सरकारी अस्पतालमा सरसफाइ सञ्चालन हुन्छ”, उनले भने । देशभरका सरकारी अस्पताल अनुगमन मन्त्रालयबाट हुने गरी छुट्टै अनुगमन महाशाखा मन्त्रालयमा निर्माण गर्न लागिएको जानकारी उनले दिए ।

गत वैशाख २३ गते मन्त्रालय, वीर अस्पताल र धुर्मुस–सुन्तली फाउण्डेशन मिलेर एक महिनाभित्र वीर अस्पताललाई देशकै सफा र राम्रो अस्पताल बनाउने तयारीअनुसार सरसफाइ र मर्मतसम्भार भइरहेको छ । राज्यमन्त्री अर्यालले वीर अस्पताललाई देशकै नमूना अस्पतालका रुपमा विकास गर्न भक्तपुरको दुवाकोटमा जग्गा लिइसकिएको बताउँदै उक्त स्थानमा समेत चाँडो अस्पताल बन्ने जानकारी दिए । “वीर अस्पतालको आकस्मिक सेवालाई समेत व्यवस्थित बनाइनेछ”, उनले भने । उनले वीर अस्पतालका कर्मचारी तथा चिकित्सकलाई पोशाक अनिवार्य लगाउनसमेत निर्देशन दिए ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले वीर अस्पतालको काम महत्वपूर्ण र अर्थपूर्ण भएको छ भने । वीर अस्पतालको बाहिरी तथा भित्री भागको सरसफाइका लागि हालसम्म रु ४८ लाख खर्च भइसकेको छ ।