राजनीति

काँग्रेस अब नयाँ ढंगले अगाडि बढ्छः नेता डा महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफ्नो पार्टी अब संगठन सुदृढीकरणमा नयाँ रणनीतिका साथ अघि बढ्ने बताएका छन् ।

आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, “काँग्रेसले मुलुक र जनताका लागि अन्य राजनीतिक दलको तुलनामा राम्रो काम गरेको भए पनि त्यसलाई जनतामाझ बुझाउन नसक्दा निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसकेको हो ।”

सहमहामन्त्री डा महतले छिट्टै पार्टीका विभाग गठन, संविधानको संरचनाअनुसारको पार्टीको संयन्त्र विस्तार र भ्रातृसंस्थाको प्रभावकारी परिचालन तथा व्यवस्थापन गरिने बताउँदै “अब आन्तरिक आरोप प्रत्यारोपभन्दा पनि संगठन निर्माणमा लाग्ने बेला आएको छ,” भने ।

काँग्रेस अब पार्टी सुदुढीकरणका साथै लोकतन्त्रमाथि विश्वास गर्ने वर्गलाई विश्वस्त तुल्याएर अघि बढ्नेछ, उनले भने, “काँग्रेसले आफूले गरेका काम र योगदानका बारेमा मात्र राम्रोसँग विज्ञापन गरे पुग्छ, बढाइचढाइ गर्न आवश्यक छैन ।”

फरक प्रसंगमा उनले भौतिक पूर्वाधार निर्माणमा प्रतिष्पर्धा र गुणस्तर हुनुपर्छ भन्ने काँग्रेसको पनि भनाइ रहेको उल्लेख गर्दै हाल सरकारले निर्माण व्यवसायीलाई विद्यमान कानूनभन्दा फरक शैलीमा काम गरेर नियन्त्रणमा ल्याउने मनसाय राखेकोमा आशंका व्यक्त गरे ।

सहमहामन्त्री डा महतले पूर्वाधार निर्माणको कामका बारेमा भौतिक मन्त्रालय र त्यसअन्तर्गतका संयन्त्रबाट जानकारी लिनुपर्नेमा जिल्ला प्रशासन कार्यालयबाट सूचना लिनु उपयुक्त नभएको टिप्पणी गरे ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिने थिङ्क ट्याङ्कका बारेमा उनले थिङ्क ट्याङ्कमा पार्टीका मान्छे राखेपछि त्यसबाट आउने सल्लाह सुझाव र कार्यसम्पादन हुने काममा पक्षपात नहोला भन्न सकिन्न भने ।

सहमहामन्त्री डा महतले सामाजिक सुरक्षाका सम्बन्धमा यसअघिको काँग्रेस नेतृत्वको सरकारले गरेको कामलाई हालको बजेटमा उल्लेख नगर्नु दुःखद भएको चर्चा गर्दै प्रदेश सरकार र स्थानीय सरकार हुँदाहुँदै निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा संघीय संसद्लाई रकम दिनु गलत भएको आरोप लगाए ।

सरकारले आधारबिना बजेटमा कार्यक्रम धेरै ल्याएको र आफ्ना पार्टी कार्यकर्तालाई पोस्नेखालका कार्यक्रम ल्याएको उनको टिप्पणी थियो ।