समाचार

कामचोर ठेकेदारलाई ठेगान लगाउने काम सुरु

काठमाडौं । तोकिएको मितिमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने काम गोरखाबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले काममा ढिलासुस्ती गर्ने ९ जना कामदारविरुद्ध पक्राउ पुर्जी काटेको हो ।

योजनाको म्याद सकिदा समेत लापत्ता बेपत्ता रहेका कामचोर ठेकेदार विरुद्ध पक्राउ पुर्जी काटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले पक्राउ पुर्जी जारी गर्दै भने, ‘आयोजनाको म्याद सकियो तर कामको प्रगति छैन, फेरि ठेकेदारहरु सम्पर्कमा पनि छैनन्,’ ‘त्यस्ता लापरवाही गर्ने ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेका हौं ।’

ठेकेदारको लापरवाहीका कारण विकास निर्माणका काम अस्तव्यस्त बनेपछि जनगुनासो बढेको र त्यही जनगुनासो सम्बोधन गर्न कारवाही अगाडी बढाइएको प्रजिअ भट्टराइले बताए ।

‘हाम्रो अभिप्राय कारवाही गर्ने भन्दा पनि विकास निर्माणको कामले गति पाओस् भन्ने हो, नियम संगत तरिकाले काममा आवश्यक सहयोग गर्न हामी तयार छौं, तर यति गर्दा पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारलाई हामी छाड्दैनौं’, प्रजिअ भट्टराइ भने ।

गृहले जिल्लामा काम नगर्ने ठेकेदारको नाम ्लिष्ट पठाएपछि कारवाहीको थालनी गोरखाबाट भएको छ भने अरु जिल्लाले पनि कामचोर ठेकेदारको कारवाही प्रक्रिया धमाधम अगाडी बढाउनु पर्ने देखिएको छ ।