आर्थिक

लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व

भक्तपुर । चाँगुनारायण नगरपालिकाले लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

जनप्रतिनिधिले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले करीब रु चार करोड ४५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा रु सात करोड ६९ लाखसंकलन गरेको जानकारी दिए ।

सो अवधिमा १९ ऐन कानून पारित गरेको, नगरपालिकालाई सूचना प्रविधिमा विकास गर्दै घरधुरी सर्वेक्षण, डिजिटलाइज्ड सिस्टम लागू गरेको र पर्यटन क्षेत्रको विकासका लागि कार्यक्रम अगाडि सारेको जनाइएको छ ।

त्यस्तै २४ सै घण्टा तयारी अवस्थामा रहन गृह मन्त्रालयसँग सीधै सम्पर्क रहने गरी विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि नगरस्तरीय आपत्कालीन कार्य सञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रमा शतप्रतिशत विद्यार्थी भर्ना व्यवस्था गरिएको, सडक निर्माण, शिक्षा र स्वास्थ्यको विकास एवं अनुदानको कार्यक्रमलाई अगाडि बढाइएको नगर प्रमुख मिश्रले जानकारी दिए ।