समाचार

नेपालको कूटनीतिक सम्बन्ध फैलियो

काठमाडौँ । नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र साम टेरेन्स कण्डोरले हस्ताक्षर गरे ।

त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले बहुपक्षीय मञ्चमा साझेदारीका साथै पर्यटन, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप व्यवस्थाका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

सेन्ट किट्स् एण्ड नेभिसका नामले समेत परिचित उक्त मुलुक र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेश दिइएको पनि उक्त नियोगले जनाएको छ ।