प्रवास

गणतन्त्र र सगरमाथा दिवस न्यूयोर्क र बैंककमा पनि

काठमाडौँ । गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।

उक्त कार्यक्रममा न्यूयोर्कस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै त्यहाँ बसोबास गर्दै आएका नेपालीको सहभागिता रहेको संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपाल पर्यटन बोर्ड र अमेरिका–नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा आयोजित तस्वीर प्रदर्शनीमा सगरमाथा र आसपासका हिमालका ३० वटा मनोरम तस्वीर समावेश गरिएको छ । प्रदर्शनी यही जेठ १८ गतेसम्म जारी रहने छ ।

यसैगरी, बैंककस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गर्नाका साथै वृत्तचित्र प्रदर्शनी गरेको जनाइएको छ ।

कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र थाइल्याण्डका पर्वतारोही, सगरमाथा आरोहण गरेका थाई नागरिक, त्यहाँका सञ्चारकर्मी र पर्यटन व्यवसायीको बाक्लो उपस्थितिमा गणतन्त्र र सगरमाथा दिवस आयोजना गरिएको बैंककस्थित नेपाली दूतावासले आज जनाएको छ ।