पर्यटन/संस्कृति

सम्पदा पुनःनिर्माणमा उदासीनता

– पूर्णप्रसाद मिश्र
काठमाडौँ । भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४।९४ प्रतिशतको मात्रै पुनःनिर्माण भएको छ ।
पुरातत्व विभागले प्रकाशन गरेको भूकम्पद्वारा प्रभावित स्मारकको प्रारम्भिक प्रतिवेदनबमोजिम २० जिल्लाका एक हजार ५९८ सम्पदा भूकम्पबाट प्रभावित भएका थिए । उपत्यकाका एक हजार १०४ र उपत्यका बाहिरका ४९४ सहित एक हजार ५९८ सम्पदामा भूकम्पबाट क्षति पुगेको विवरण विभागसँग छ ।
महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन २०७४ मा उल्लेख गरिएको विवरण अनुसार भूकम्पले काठमाडौँमा ५६४, ललितपुरमा २८४ र भक्तपुरमा २५६ गरी एक हजार १०४ सम्पदामा क्षति पु¥याएको थियो । देशभरि सात हजार ४०२ र उपत्यकामा मात्र पाँच हजार ४०२ पुरातात्विक सम्पदा सूचीकृत छन् ।
महालेखाको प्रतिवेदनमा भनिएको छ, “क्षति भएकामध्ये पुनःनिर्माण सम्पन्न भएका, निर्माणाधीन र बाँकीको संख्या यकिन गरी राखिएको पाइएन ।”
सम्झौताको एक वर्षपछि शुरु हुँदै काष्ठमण्डप पुनःनिर्माण
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काम शुरु हुन सकेको छैन । काष्ठमण्डप पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वर्ष वैशाख २९ गते सम्झौता भएको थियो ।
सम्झौता लगत्तै स्थानीय तहको निर्वाचन भयो । काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठका अनुसार, महानगरपालिकामा पदाधिकारी निर्वाचित भएर आएपछि महानगरले आफैँ बनाउने भनेर अभियानलाई काम गर्न नदिएकाले पुनःनिर्माणको कार्य अवरुद्ध हुन गएको हो ।
अभियानका अध्यक्ष श्रेष्ठले भने, “पुनःनिर्माण गर्न शुरु भैसकेको काष्ठमण्डप क्षेत्रमा महानगरपालिकाले असार ६ गते ताला लगाई साँचो लिएर हिँड्यो । महानगरपालिका आफूले पनि बनाएन, हामीलाई पनि काम गर्न दिएन ।”
अभियान र महानगरपालिकाबीच काष्ठमण्डपलाई पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्ने गरी गत वर्ष वैशाख २९ गते १५ बुँदे सम्झौता भएको थियो । तर सो सम्झौतालाई मान्यता नदिई महानगरपालिकाले आफैँ बनाउँछु भनी निर्माण कार्य रोकेको पनि दश महिना बितिसक्यो ।
पुनःनिर्माण कार्यमा विवाद भई आपसी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट हुने निर्णय नै अन्तिम हुने भनी सम्झौतामा उल्लेख थियो । यसै आधारमा महानगरपालिकाले हस्तक्षेप गरेर अभियानलाई काम गर्न नदिएपछि अभियानले पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखेरै जानकारी गरे।
प्राधिकरणको कार्यकारी समितिले महानगरलाई नै काम गर्न दिने निर्णय गरिदिए पछि रोकिएको पुनःनिर्माणको काम अलपत्र भए । महानगरपालिकाले काम शुरु नगरेपछि पुरातत्व विभागले गत पुस १८ गते पत्र काटेर छिटो काम शुरु गर्न अनुरोध गरेको थियो । तर अहिलेसम्म काम अघि बढ्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, “पुरातत्व विभागबाट बनेर आएको नक्शा पास भैसकेको हुनाले अब स्थानीयवासीसँग छलफल गरी काम अघि बढाउने तयारीमा छौँ ।” ।
काष्ठमण्डप पुनःनिर्माणका लागि महानगर र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले छलफल गरी समिति गठन गरेका छन् । समितिको अग्रसरतामा वैशाख ३१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्रप्रसाद अधिकारीले पुनःनिर्माण शुभारम्भ गरेको छ । पुनःनिर्माण शुभारम्भपछि निर्माण सामग्री जुटाउने काम भइरहेको निर्माण समिति संयोजक एवम् प्रदेशसभा सदस्य राजेश शाक्यले जानकारी दिए।
“निर्माण सामग्री जुटाएर चार महिनामा पुनःनिर्माण शुरु गर्छौँ, सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाए अनुसार तीन वर्षमा काष्ठमण्डप पुनःनिर्माण सम्पन्न हुन्छ” – उनले भने।
काष्ठमण्डपको एक हजार १०० वर्ष पुराना काठहरु वसन्तपुर क्षेत्रमा अलपत्र छाडिँदा चोरी हुने र नासिने जोखिम बढेको छ ।
हनुमानढोका संरक्षण कार्यक्रमले भने विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोका लगायत पुरातात्विक चीजबीज सुरक्षित रहेको दावी गरे पनि अभिलेख भने देखाउन सकेन ।
भूकम्पपछि पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को संयुक्त पहलमा गरिएको उत्खननबाट प्राप्त भएका अवशेषको आधारमा यो सम्पदा इस्वी संवत्को सातौँ शताब्दीमै बनेको पुष्टि भएको थियो ।
यसअघि काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको उल्लेख नाम सङ्गीति ग्रन्थमा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिए ।
घाँसेमैदान बन्दै रानीपोखरी
अढाइ वर्ष अघि १८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा रानीपोखरी र त्यहाँको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्न राष्ट्रपतिले शिलान्यास गर्नुभए पनि पुनःनिर्माणको काम अलपत्र छ । रानीपोखरी घाँसे मैदानमा परिणत भएको छ ।
महानगरपालिका र निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार गत कात्तिक मसान्तसम्ममा पुनःनिर्माण सकिनु पर्ने थियो । महानगरका इन्जिनियर भीष्मराज सोगुका अनुसार रानीपोखरी पुनःनिर्माणमा हालसम्म रु चार करोड खर्च भइसकेको छ । “विज्ञ समूहले बनिसकेको संरचना भत्काउने प्रतिवेदन दिएकाले यस अघिको खर्च यसै खेर गयो” – उनले भने ।

यहाँ १०८ तीर्थस्थलको जल हालेर बनाइएको ‘विष्णुतीर्थ’ पुनःनिर्माण क्रममा कंक्रिट प्रयोग गरिएको विषयमा नगर प्रमुख र उपप्रमुखबीच विवाद भएपछि २०७४ पुस १३ गते महानगरले पोखरी पुनःनिर्माणको अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन ग¥यो । समितिले पुरानै स्वरुपमा पुनःनिर्माण हुनुपर्ने प्रतिवेदन दिएको छ तर, काम अघि बढ्न सकेको छैन ।
बालगोपालेश्वर गत वर्ष असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको थियो । स्थानीयवासी सुमना श्रेष्ठ भन्छन, “ऐतिहासिक सम्पदाहरु अस्तित्वको संकटमा परेका छन् । रानीपोखरी चौर बनेको छ भने बालगोपालेश्वर मन्दिर जमिनमै हराएको छ ।”
बनेन रातो मच्छेन्द्रनाथ मन्दिर

अढाइ वर्ष अघि भूकम्प सुरक्षा दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ ललितपुरको बुङ्मतीमा रातो मच्छेन्द्रनाथको मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गरे । यो काम पनि सुस्त गतिमा छ ।
श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण हुँदै गरेको रातो मच्छिन्द्रनाथको मन्दिर २०७५ असारमा सकिनु पर्ने सम्झौता छ । तर अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको परियोजना प्रमुख एवम् पाटन दरबार हेरचाह अड्डा प्रमुख काजी प्याकुरेल बताउन्छन्।
“तीन महिनादेखि काम रोकिएको छ, हालसम्म फाउन्डेसनको पेटीसम्मको मात्र काम भएको छ, समय थप गर्ने गृहकार्य भइरहेको छ, द्रुत गतिमा काम भएपनि दुई वर्ष पुनःनिर्माण सक्न लाग्छ” – उनले भने ।
धरहरा ढलेको ढल्यै
सरकारले २०७३ असार ३१ गते ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि धरहरा पुनःनिर्माण खातामा रु नौ करोड जम्मा भैसकेको छ । नेपाल टेलिकमले धरहरा पुनःनिर्माण गर्ने सम्झौता गरेर पनि त्यस सम्झौताबाट विमुख भएपछि प्राधिकरणले धरहरा आफैँले बनाउने निर्णय गरेको छ । प्रवक्ता यमलाल भुसालले धरहराको ड्रइङ र डिजाइनको काम भइरहेको बताए ।
असार मसान्तसम्म काम शुरु भएर दुई वर्षमा सकिने  उनकोभनाइ छ ।
पशुपतिका ७५ सम्पदा अलपत्र
पशुपति क्षेत्रका ५१८ स्मारकहरुमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । अरु १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।
पूर्ण क्षति भएकामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चारवटा सम्पदाको पुनःनिर्माण भएको जानकारी पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले दिनुभयो । उहाँका अनुसार हाल १५ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । तर पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।
प्राधिकरणको तथ्याँक अनुसार भूकम्पले देशभर ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म १०० को पुनःनिर्माण सम्पन्न भयो ।
भूकम्पपछि भत्केका प्रमुख सम्पदास्थल पुनःनिर्माण हुन नसक्दा बाह्य पर्यटकको आगमन घट्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।