राजनीति

“नेपाललाई अब गरिब देश होइन, केही बर्षभित्रै सम्पन्न बनाउदैँछौं”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन् ।
नुवाकोटको ककनीमा आज स्काउटको तेस्रो जम्बोरीको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले बालबालिका,यूवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताए ।

२०२४ /०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले देशलाई केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताएका छन् । “नेपाललाई अब गरिब देश होइन केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं” प्रधानमन्त्री ओलीले भने । नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जम्बोरीमा भाग लिन नेपाल सहित भारत, भुटान, बंगलादेशबाट सहभागीहरु आएका थिए ।