समाचार

मदन भण्डारी राजमार्ग बन्ने भएपछि प्रस्थानविन्दुमा खुशीयाली

काँकडभिट्टा । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ ।

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५÷७६ को बजेटमा मदन भण्डारी राजमार्गका लागि रु चार अर्ब ५० विनियोजन गरेका छन् ।

आफ्नो ठाउँबाट राजमार्ग बन्ने खबरले खुशी भएका बाहुनडाँगीका राजनीतिक दलका नेताले यसबाट विकासको नयाँ ढोका खुल्ने विश्वास गरेका छन् । पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि केपी ओली नेतृत्वको सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित पर्याप्त बजेट समेत विनियोजन गरेको हो ।

नेपाली कांग्रेसका नेता नीरज घिमिरेले यो राजमार्गको निर्माणका लागि बजेट छुट्याएकोमा सरकारलाई धन्यवाद दिएका छन् । बाहुनडाँगी अत्यन्त पछाडि परेको दुर्गम ठाउँ भएकोले राजमार्ग खुल्ने कुराले स्थानीयवासीले थुप्रै अपेक्षा पूरा हुने विश्वास पालेको घिमिरे बताए ।

पाटापुरबाट राजमार्गको शुरुवात हुने बजेटमा उल्लेख छ । मेचीनगर–– १ का वडाध्यक्ष पासाङ तामाङ यो राजमार्ग बनाउन अति आवश्यक रहेको बताउछन् । पाटापुर गाउँमा ८५ घर रहेको उल्लेख गर्दै उहाँले राजमार्ग बनेपछि गाउँकोस्वरुप बदलिएर ठूलो शहरको अवतार लिने आशा गरिएको बताए ।

भारततिरको लोहागढ–पानीघट्टा बाटोमा पिच रहेको बताउँदै उहाँले मेची पुलमा पुल बनाएर मदन भण्डारी राजमार्गलाई भारतीय मार्गसँग जोड्नुपर्ने धारणा राखे ।

तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले मदन भण्डारी राजमार्गको घोषणाले महेन्द्र राजमार्ग बन्दाखेरिदेखिकै सपना बल्ल पूरा भएको बताए ।

महेन्द्र राजमार्ग बनाउँदाखेरी चुरे मार्गको समेत सर्वेक्षण भएको जनाउँदै नेकपाका नेता समेत रहेका तिवारीले पाटापुरबाट बौद्धमोड–तेलपानी–बँेशीसहर हुँदै शान्तिनगरमा जोडिने यो बाटो अहिले पनि प्रचलनमा रहेको बताए ।

मेचीनगर–४ का वडाध्यक्ष नवीन बरालले चुरे क्षेत्रबाट नयाँ राजमार्ग बन्ने कुराले सबैलाई हर्षित तुल्याए पनि यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाट शुरु हुनुपर्ने धारणा व्यक्त गरे ।

सरकारको नीति तथा कार्यक्रममा शान्तिनगरबाट शुरु गरिने उल्लेख भएको थियो’, वडाध्यक्ष बराल भन्छन्: “कहिले कता कहिले कता भनेर अल्मलाउनु हुँदैन, यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाटै शुरु हुनुपर्छ ।”

महेन्द्र राजमार्गले मेचीनगरको बाहुनडाँगी, बुद्धशान्तिको बुधबारे, जयपुर र अर्जुनधाराको खुदुनाबारी हुँदै सुनसरीको चतरा जोड्ने बताइएको छ । चतरा–हेटौँडाबीचको ३०० किलोमिटर बाटोमा भने सरकारले पहिल्यैदेखि पूर्वाधार निर्माण गरिरहेको छ । चतरा मार्गमा फराकिलो कालोपत्रे बनिसकेको छ ।