अन्तर्राष्ट्रिय

आतङ्ककारी हमला होइनः बेल्जियम

ब्रसेल्स । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतङ्ककारी नभएको बेल्जियम सरकारले जनाएको छ ।

गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको खोजीमा ती व्यक्ति आतङ्ककारी गतिविधिमा संलग्न भएको नपाइएको बताइएको हो । त्यस गोलीकाण्डमा परी दुई जना प्रहरी, एक बटुवा र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको थियो ।

गोली हान्ने ती व्यक्ति पनि प्रहरीको कारबाहीमा परी मारिएका थिए ।

उक्त अज्ञात व्यक्तिले शुरुमा छुरा देखाएर प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ ।

बेल्जियममा केही वर्षयता देखि यस्ता आतङ्ककारी हमलाहरु हुने गरेका छन् । त्यसैले प्रहरीले यो पछिल्लो घटनामा संलग्नहरुको बारेमा पनि व्यापक मात्रामा खोजी गरेको थियो । -रासस÷एएफपी