समाचार

विपद् जोखिम न्यूनीकरण गर्न रेडक्रसको कोशी बेसिन परियोजना

काठमाडौँ । प्राकृतिक विपद् पूर्वतयारी र समुदायमा उत्थानशीलता अभिवृद्धि गर्न मानवीय सेवाको उच्च निकाय नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक साझेदारीमा तराईका तीन जिल्लामा समुुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कोशी बेसिन परियोजना शुरु गरेको छ ।

सुनसरी, सप्तरी र उदयपुरका विभिन्न चार गाउँपालिका तथा नगरपालिकामा रु छ करोड सहयोग गर्ने गरी दुई वर्षे सो परियोजना सोसाइटीले कार्यान्वयनमा ल्याएको हो । गत वर्षमात्र कोशी नदीमा आएको बाढीको प्रभावले हजाराँै स्थानीयवासी विस्थापित हुन पुगेका थिए ।

नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, नेपालस्थित कोरियन रेडक्रसका प्रतिनिधि सुन हि किम, सामसुङ कम्पनीका नेपाल व्यवस्थापक युवी ओम ओनले संयुक्तरुपमा हालै सुनसरीस्थित धरानमा आयोजित कार्यक्रममा परियोजनाको विवरणसहितको ताम्रपत्र सार्वजनिक गरी परियोजना शुभारम्भ गरेका थिए ।

परियोजनाले विपद् जोखिम न्यूनीकरणका लागि आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाइ, लैंगिक समावेशीकरण, जलवायु परिवर्तन र शान्ति प्रवद्र्धनलगायतका विषयमा परियोजनाले समेटेको छ । साथै, स्थानीय नगरपालिका, विद्यालय, स्थानीय विपद् व्यवस्थापन समितिसँग सहकार्य गर्दै संकटासन्न समुदायको क्षमता अभिवृद्धि गर्ने, प्राकृतिक र मानवसिर्जित प्रकोपको उचित व्यवस्थापन गर्ने, विशेषतः बाढीका जोखिम र प्रतिकार्य पूर्वतयारी गर्ने गराउने लक्ष्य राखेको छ ।

परियोजना गतिविधिको परिकल्पना लक्षित क्षेत्रका संकटासन्नता क्षमता विश्लेषणको आधारमा गरिएको नेपाल रेडक्रसका सञ्चार तथा मानवीय सेवा विभागका प्रमुख दीव्यराज पौडेलले जानकारी दिए ।

उनका अनुसार परियोजनाले उदयपुरको बेलका नगरपालिका–१ र २ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा १४, र तिलाठी कोइलाडी गाँउपालिकाको वडा ५ तथा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० को क्षेत्रलाई समेटेको छ ।

परियोजनाबाट ती स्थानीय निकायका सात हजार ५०० घरपरिवारका ३६ हजार ५०० भन्दा बढी लाभान्वित रहनेछन् । सो अवसरमा रेडक्रस अध्यक्ष थापाले नेपाल रेडक्रसले मानवीय सेवाका विविध क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै विपद् पूर्व, विपद्पश्चात, विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सामूहिक पहल गर्न परियोजनाले स्थानीय समुदायलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालस्थित रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रमुख जुजा किमले परियोजनाले विपद् व्यवस्थापनमा सहयोग पुगी दिगो विकासका लक्ष्य हासिल गर्न योगदान गर्नेछ भने । नेपाल रेडक्रसका उपमहामन्त्री हरि न्यौपाने र केन्द्रीय सदस्य मनोज थापाले विपद् पूर्वतयारी राम्रो भएमा यसबाट हुने क्षति न्यून हुने चर्चा गर्दै रेडक्रसले विपद् पूर्वतयारीका लागि समुदायलाई सहभागिता गराउन जोड दिएको बताए ।

सामसुङ कम्पनीका नेपाल व्यवस्थापक युवी ओम ओनले कार्यक्रममा भूकम्पपीडितलाई पनि आफ्नो कम्पनीले सहयोग गरेको, सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा सहभागी हुँदै आएको जानकारी दिँदै विपद् पूर्वतयारीका क्षेत्रमा संकटासन्न समुदायमा आफ्ना सहयोगी हात फैलाउन पाउँदा आनन्द महसुुुस भएको बताए ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका तर्फबाट उपमहामन्त्री न्यौपाने र सुनसरीका रेडक्रस सभापति उमेश थापा, उदयपुर रेडक्रस सभापति विनोद बस्नेत र सप्तरीका रेडक्रस सभापति जोगेन्द्र भगतले परियोजना कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कोरियन रेडक्रसले भूकम्प अतिप्रभावित जिल्लामा स्वास्थ्य संस्था पुनःनिर्माणलगायतका क्षेत्रमा नेपाल रेडक्रसलाई सहयोगसमेत गरिरहेको छ । कोरियन रेडक्रसले आफ्ना सहयोगी हात नेपालमा प्रदान गरेको एकदशकभन्दा बढी भइसकेको छ ।

कार्यक्रममा धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख जयराम श्रेष्ठ तथा पत्रकार महासंघ सुनसरीका अमर खड्काले मानवीय सेवाका क्षेत्रमा रेडक्रसले आगामी दिनमा प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।