शिक्षा

पाल्पाली समाजद्वारा तीन विद्यालयमा अक्षयकोष

रामपुर, पाल्पा । पाल्पाली समाज, युएई (संयुक्त अरब इमिरेट्स) ले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

समाजले गाउँपालिकाभित्र रहेका सातपोखरी मावि, गोठादी, महेन्द्र नरेश प्रावि, रहवास र धारादेवी मावि, बहादुरपुरलाई प्रति विद्यालय रु २५/२५ हजारका दरले अक्षयकोष स्थापना गरेको हो ।

पाल्पाली समाज युएईका प्रतिनिधि खगेश्वर बोटे ‘पाल्पाली कान्छा’ले गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर र शिक्षा शाखा प्रमुख काशीराम बस्यालको सहभागितामा सो रकमको अक्षयकोष सम्बन्धित विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।

अक्षयकोष हस्तान्तरण गर्दै समाज युएइका प्रतिनिधि पाल्पाली कान्छाले सानो रकम भएपनि विद्यालयलाई राहत पुग्ने भएकाले जिल्लाका स्थानीय तहमा रहेका विपन्न र दुर्गम क्षेत्रका ६० विद्यालयलाई अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको बताए । सोहीअनुसार माथागढीका तीन विद्यालयलाई अक्षयकोष स्थापना गरिएको उनले बताए ।

त्यस्तै, गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले शिक्षा क्षेत्रमा पाल्पाली समाज, युएइले देखाएको सहानुभूतिको प्रशंसा गरे ।

विद्यालयमा अक्षयकोष स्थापना गरिदिएकोमा समाजलाई धन्यवाद दिँदै सातपोखरीका प्रअ शेरबहादुर थापा, महेन्द्र नरेश प्राविका प्रअ शिवजंग रायमाझी र धारादेवी माविका प्रअ तुलानन्द शाहले यसले विद्यालय सञ्चालनमा ठूलो राहत मिल्ने बताए ।