पर्यटन/संस्कृति

परम्परागत पहिरन बनाउन सिक्दै राना थारु युवती

 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् ।

राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप सिक्न थालेको वडाध्यक्ष जगता रानाले बताए ।

बूढापाकाको ढल्किँदो उमेरसँगै हराउँदै गएको पहिरन बनाउने सीप सिक्नका लागि युवापुस्ताले चासो देखाएपछि वडा कार्यालयको तर्फबाट रु ५० हजार रकम प्रदान गरी पहिरन बनाउनका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाइएको उनले बताए ।

पहिरन बनाउनका लागि कपडाको चयन गर्ने, बुट्टा भर्ने, ऐना जडान गर्ने, हातैले सियोको मद्दतले सिउने, नापअनुसारको पहिरन तयार गर्ने कार्य सिक्न थालेको १५ वर्षीया उमा रानाले बताए ।

“परम्परागत पहिरन हातैले बनाउनु पर्ने भएकाले समय बढी लागेपनि राना थारु समुदायलाई चिनाउने पहिलो पहिचानका रुपमा पहिरन रहेकाले यसको जगेर्नाका लागि सीप सिक्न थालेका छौँ” उनले भने ।

ज्येष्ठ महिलाले पालैपालो युवापुस्ताका युवतीलाई सीप हस्तान्तरण गर्न चासो देखाएपछि युवतीसमेत सीप सिक्नमा उत्सुक देखिएका छन् ।

आधा दर्जन ज्येष्ठ महिलाले २५ जना युवतीलाई पहिरन बनाउने सीप सिकाई दक्ष बनाएका छन् । युवतीले ज्येष्ठबाट सीप सिकेर चार जोडी पहिरन तयार गरेका छन् । एक पहिरन तयार गर्न झण्डै रु ११ हजारभन्दा बढी रकम लागेको छ ।

परम्परागत पहिरन तयार गर्न विभिन्न कपडाको मिश्रणसँगै कलात्मकरुपमा सजाउनु पर्ने भएकाले बढी खर्च आउने गरेको पहिरन बनाउने सीप सिकाउँदै आएका सवादादेवी रानाले बताए।

साधारण पहिरनभन्दा परम्परागत पहिरन महँगो हुने भएकाले पनि यसप्रतिको आकर्षण घटेको हो, उनले भने, “राना थारु समुदायको पहिचाननै पहिरनमा रहेकाले जगेर्ना गर्नु सबैको कर्तव्य हो ।”