देश

नेपालमै बसेर काम गर्ने युवाको देश निर्माणमा महत्वपूर्ण योगदान : मन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वर्तमान सरकारले देशलाई समृद्ध बनाउने प्रमुख लक्ष्यका साथ कार्य गरिरहेको बताएका छन् ।

दशौं गणतन्त्र दिवसका अवसरमा  ‘समृद्धिका लागि सहकार्य, देशका निम्ति अपरिहार्य’ विषयको एक विचार गोष्ठीमा मन्त्री तामाङले आथिक समृद्धि हासिल गर्न सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

युवा वर्गलाई नेपालमै बसेर काम गर्न आग्रह गर्दै उनले देश निर्माणमा युवाको महत्वपूर्ण योगदान रहनुपर्ने बताए ।

नेकपाका नेता देवेन्द्र पौडेलले मुलुकले क्रान्तिको चरण पूरा गरिसकेकाले अब आर्थिक विकास गरी समृद्धि हासिल गर्नुपर्ने खाँचो रहेको बताए । उनले अब पक्ष विपक्ष सबै मिलेर देशको विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने पनि बताए ।

अटोमोबाइल्स व्यवसायी दीपक थापाले बजेटमा साना गाडीलाई सहुलियत दिएको र एक हजार सिसीभन्दा माथिकालाई कर बढाएकाले यसले साना गाडी प्रयोगकर्तालाई प्रोत्साहन दिएको बताए । उनले नेपालमा बाइक फेशनका रुपमा धेरै भएकाले यसलाई नियन्त्रण गर्न जरुरी भएको पनि बताए ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा जलस्रोत, शिक्षा, फोटोग्राफी, समाज सेवा र पर्यटनको क्षेत्रमा योगदान गर्ने वरिष्ठ फोटोग्राफर प्रदीपराज वन्त, शिक्षक गोपाल कार्की, जलस्रोतविद् भरतप्रसाद नेपालसहित २१ जनालाई सम्मान गरिएको थियो ।