कृषि

डोल्पामा स्याउ उत्पादन घट्ने

त्रिपुराकोट । हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ ।

दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् ।

आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् । यहाँको जुफाल, डाँगीवाडा, सुँ, जिँउ, रङ्ग, गल्ली, लिकु, रह, नाउलालगायतका स्थानमा स्याउको व्यावसायिक खेती गरिएको छ ।

यस वर्ष चैत अन्तिममा परेको असिनापानीले जिल्लाका अधिकांश स्थानमा लगाइएको स्याउको फूल नष्ट पारेको कृषकले बताए । “स्याउका बोट फुलेर सेताम्य भएको बेला हावाहुरी र असिनापानीले झा¥यो, झारेर बाँकी रहेका फल लागिसकेको स्याउ पनि जेठको असिनापानीले नष्ट पा¥यो”, ठूलीभेरी नगरपालिका–७ जुफालका जितबहादुर शाहीले भन्नुभयो ।

“मेरो २०० रुख स्याउको छ, हावाहुरी र असिनापानीले अधिकांश रुखको फूल र फल नष्ट पा¥यो, अघिल्लो वर्षभन्दा यसवर्ष ७० प्रतिशत स्याउ उत्पादन घट्ने देखिएको छ”, उनले भने । गत वर्ष शाहीले रु एक लाखको स्याउ बिक्री गर्नुभएको थियो । यस वर्ष रु ३० हजारको बिक्री गर्न पनि मुस्किल हुने उनको भनाइ छ ।

डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छ । त्रिपुरा सुन्दरी नगरपालिका– ३ जिँउ गाउँका कृषक रञ्जित बोहोराको ३०० रुखमा असिनापानी र हावाहुरीले क्षति पु¥याएको छ । उहाँले गत वर्ष १० क्विन्टल स्याउ उत्पादन गरेका थिए ।

“पाँच क्विन्टल मुस्किलले बिक्री गरेँ, बिक्रीका लागि बजार नहुँदा आधा निःशुल्क बाँडे, आधा घरमै कुहियो”, उनले भने । यस वर्ष रु बीस हजारबराबरको स्याउ पनि उत्पादन नहुने देखिएको उहाँको भनाइ छ । हावाहुरी र असिनापानीले सबै नष्ट पारेपछि बोहोराले क्षतिपूर्तिका लागि नगरपालिका र जिल्ला कृषि कार्यालयमा निवेदन दिएका छन् ।

“स्याउको बीमा गरेका छौँ, राहत मिल्ने आशा छ”, उनले भने ।

डोल्पामा शिखर इन्स्योरेन्सले फलफूल बीमा कार्यक्रम लागू गरेको छ । गत वर्षमात्रै असिनापानी र हावाहुरीका कारण स्याउखेती नष्ट हुँदा पीडित बनेका कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएको थियो । अहिले जिँउ गाउँमा मात्रै ६० जनाभन्दा धेरैले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दैआएका छन् । बजार अभावमा वर्षेनी लाखौँ मूल्यबराबरको स्याउ घरमै कुहिने गर्छ ।