राजनीति

सरकारको बजेट हावादारी नभई यथार्थः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको छ ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।”

उनले सरकारमा रहने र नरहने सबै दल एकजुट भएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको बजेट ‘हावादारी’ नभई यथार्थमा आधारित रहेको बताए ।

शिक्षकका परीक्षा चाँडै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थगित भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा चाँडै लिइने र त्यससँगै खुल्ला परीक्षा पनि लिइने जानकारी दिए ।

शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी सबैसँग परामर्श गरेर संघीय शिक्षा ऐन तथा अनिवार्य शिक्षा ऐन ल्याउने बताउँदै उनले शिक्षाको बजेट क्रमशः बढ्दो क्रममा रहेको र उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको तथा विद्यार्थी भर्ना अभियान सफल भएकाले अब टिकाउ, बिकाउ र सिकाइ अभियान सञ्चालन हुने बताए ।

मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोग पुनर्गठन गरिने र शिक्षकका लागि अलग्गै अस्पताल खोलिने जानकारी दिँदै आफूहरु शिक्षकको राजनीतिक अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट गरे ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधारले प्राविधिक धार र प्रविधिको सहयोग लिएर शिक्षामा सुधार गर्न सकिने छ भने ।

संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको परीक्षा स्थगन गरिनु दुःखद भएकाले चाँडै परीक्षा लिन माग गरे ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडालगायतलाई सम्मान गरिएको थियो ।