राजनीति

संगठन सुदृढीकरण अभियानमा तरुण दल

बागलुङ । तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ ।

युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताए ।

उनका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन स्थानीय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिकामा जेठभित्रै संगठन विस्तार गरिनेछ ।

“स्थानीय तहअनुसार संगठन विस्तार गरिरहेका छौ”, उनले भने, “वडा तहसम्मै संगठनका सक्रिय कमिटी बन्छन् ।” यसअघि गाविसस्तरमा बनेका तरुण दलका कमिटीहरु अधिकांश निष्क्रिय अवस्थामा थिए ।

संगठन विस्तारसँगै सशक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ । जिल्लास्तरका नेताहरुको उपस्थितिमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमपनि चलाइएको छ ।

युवालाई सशक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको छ ।

नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले भ्रातृ तथा शुभेच्छुक संगठनलाई जागृत गराउन पार्टी लागिपरेको बताए । उनले तरुण तलको संगठन विस्तार र सशक्तीकरण अभियानले पार्टी थप बलियो र सशक्त हुने धारणा राखे । “नेपाली काँग्रेसको सशक्त संगठनमा तरुण दल पर्छ”, उनले भने, “भ्रातृ संगठन बन्नु भनेको पार्टी बन्नु हो ।”

सबै भ्रातृ संगठनहरु सशक्त नभएसम्म पार्टी निर्माण नहुने उनको भनाइ छ । उनले तरुण दलसँगै नेपाल विद्यार्थी संघ, महिला संघ, भूपू सैनिक संघलगायतका भ्रातृ तथा शुभेच्छुक संगठनलाई स्थानीय तहमा विस्तार गरिने पनि बताए ।