अन्तर्राष्ट्रिय

पुएर्टो रिकोमा आँधीमा चार हजार छ सय व्यक्तिको मृत्यु : अध्ययन

टम्प, पुएर्टो रिको । पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ ।

यो तथ्याङ्क पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको उक्त समूहले जनाएको छ । सरकारले एक वर्ष पहिले आएको आँधीमा जम्मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

तर विज्ञहरूले आँधीका कारण हराएका नागरिकको वास्तविक सङ्ख्या गणना गर्न आँधीका कारण वस्तीनै विनास भएका कारण जटिल भएको बताइएको छ ।

सरकारी तथ्याङ्कपछि एक स्वतन्त्र अनुसन्धानले उक्त प्रलयकारी प्राकृतिक विपद्मा झण्डै एक हजार व्यक्तिले ज्यान गुमाएको हुनसक्ने बताएको थियो ।

पछिल्लो अनुसन्धानमा सम्लग्न हावर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्ममा चार हजार ६४५ जनाले ज्यान गुमाएको अनुसन्धानका क्रममा थाहा हुन आएको बताइएको छ ।