स्वास्थ्य

स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि कटिबद्ध

उर्लाबारी, मोरङ । प्रदेश नंं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।

सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालको पाँचौँ वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री घिमिरेले जनताको स्वास्थ्यमा सुधार ल्याउन खानपिनमा नियमन गर्न प्रदेश सरकारले तयारी थालेको बताए ।

खैनी, चुरोट र रक्सी सेवन घातक रोगको कारक रहेको बताउँदै घिमिरेले त्यसमा कसरी खाने, कहाँ खाने र कहिले खाने भनेर नियमन गरिने बताए । शारीरिक व्यायाम स्वास्थ्यको एउटा अंगका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै घिमिरेले शारीरिक व्यायाम अपरिहार्य रहेको बताए ।

सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अहम् भूमिका रहने उल्लेख गर्दैै जनस्वास्थ्यको सवालमा स्थानीय तह र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने बताए ।

अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, समाजसेवी जयधर्म आचार्य र टीकेन्द्र पोमुले गरीब जनताको स्वास्थ्य उपचारमा पनि अस्पतालले सहयोग पु¥याउनुपर्ने बताएका थिए ।