समाचार

जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ: मन्त्री पण्डित

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने वैदेशिक नीतिको आवश्यकता रहेको बताएका छन् ।

गायक, संगीतकार तथा पूर्वप्रहरी नायब उपरीक्षक किशोर खतिवडाको १३ औँ दिनको पुण्यतिथिमा तयार भएको ‘हामी नेपाली’ म्युजिक भिडियोको आज यहाँ विमोचन गर्दै उनले देश र जनतालाई केन्द्रमा राखेर वैदेशिक सम्बन्ध विकास गर्नुपर्ने र यसमा सबैको साझा अभिमत हुनुपर्ने बताए ।

मन्त्री पण्डितले राष्ट्रियताको भावनाले ओतप्रोत हुनेहरू मात्रै नेपाली हुन सक्ने बताउँदै “यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ” भने ।

नेपालमा बस्ने सबैले सच्चा नेपाली हुन सक्नुपर्ने बताउँदै उनले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट मुलुकलाई ठूलो योगदान दिएको स्मरण गरे ।

कार्यक्रममा पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दीप तुलाधर, श्रद्धा खतिवडालगायतले नेपाली संगीतको विकासमा स्व. खतिवडाले पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गरे ।