राजनीति

जनताको सामाजिक र आर्थिक सशक्तिकरण हुन सकेनः नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा गणतन्त्र प्राप्त भएका एक दशक पूरा हुँदा पनि जनताको सामाजिक र आर्थिक सशक्तीकरण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको ‘गणतन्त्रको एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था’ विषयक अन्तक्र्रियामा उनले भने, “मुलुकमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा खासै सुधार आउन सकेको छैन ।”

वरिष्ठ नेता पौडेलले मुलुकमा विधिको शासन, सामाजिक न्याय, समानताको अनुभूति प्रत्येक नागरिकले गर्न पाउनुपर्ने उल्लेख गर्दै “गणतान्त्रिक व्यवस्थामा सोहीअनुसारका संस्कार र संस्कृतिको विकास गर्नुर्पछ, लोकतन्त्रको आधारभूत मूल्य र मान्यताबाट कोही पनि बाहिर जानु हुँदैन्,” भने ।

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराइले गाणतन्त्र प्राप्त भएपछि संविधान जारी र तीन तहका निर्वाचन सम्पन्न भई सरकार गठन भएको विषय देशको समृद्धिका लागि महत्वपूर्ण भएको बताउँदै नागरिक समाज तथा बुद्धिजीवीको क्रियाशीलताका कारण अहिलेको अवस्थामा कोही पनि तानाशाही बन्न नसक्ने धारणा व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारले न्यायालयको गरिमामा आँच आउने गरी अपराधीलाई आम माफी दिने कार्यले विधि र कानुनको शासनमा अवरोध पु¥याउने कार्य गरेको उल्लेख गर्दै संघीयताको व्यवस्थापन सही ढंगले गर्नुपर्ने अहिलेको अर्को चुनौती भएको विचार व्यक्त गरे ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सबैको साझा प्रयत्नबाट गणतन्त्र प्राप्त भएको बताउँदै कानूनी व्यवस्था कमजोर भएमा राजनीतिक शक्ति कमजोर हुने र गणतन्त्रको संस्थागत विकासमा समेत समस्या आउनेछ भने ।

पा। कृष्ण खनाल, नागरिक अगुवा श्याम श्रेष्ठलगायतले सरकार गठनमा महिला प्रतिनिधित्व संविधानमा लेखिए अनुसार हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संवैधानिक अधिकारलाई लागू गर्न राजनीतिक दल प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।