खेलकुद

सट्टेबाजी खेलाउने ६ जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन सट्टेबाजी गरेको आरोपमा गौरब तिवारी, भूपेन्द्र शम्शेर कुँवर, अञ्जन केसी, विजय श्रेष्ठ, नरेन्द्र सुवाल र दिनेश बोगटीलाई पक्राउ गरेको हो ।

प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी करोडौँ रुपैयाँ अनलाइनमार्फत सट्टेबाजी गर्दै आएका ६ जनालाई सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले इण्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाएको भन्ने सूचनाका आधारमा सोमबार छापा मारी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

“जेठ १३ गते मैतिदेवी घर भई पासिकोट बस्ने गौरब तिवारीलाई पक्राउ गरी उनको मोबाइल र ल्यापटपका रेकर्डका आधारमा अरुलाई पक्राउ गरिएको हो” – उनले भने ।

प्रहरीले सट्टेबाजी खेलाउने क्रममा तिवारीसँग रु सात करोड ४७ लाख दुई हजार, कुँवरसँग रु तीन करोड २२ लाख ९७ हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी केसीसँग रु दुई करोड ७७ लाख दुई हजार र सुवालसँग रु ७७ लाख बैंक खातामा रकम देखिएको जनाएको छ ।

परिसरका प्रमुख पोखरेलले नागराज भन्ने अमृत अग्रवालसँग मिली गौरब तिवारीले सट्टेबाजी गर्ने गरेको र पछि नागराजसँग विवाद परेपछि आफैँ लण्डनबाट मास्टर एकाउण्ट खोलेर कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको बताए ।

उक्त समूहले रु २५ हजारदेखि रु १५ लाखसम्मको बाजी खेलाउने गरेको प्रहरीले फेला पारेको छ । सट्टेबाजीमा गुण्डा नाइके दाबा लामाको समेत संलग्नता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।