समाचार

‘समृद्धिका लागि दलहरु एक ठाउँमा उभिनुपर्छ’

काठमाडौँ । विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित “संविधानको गतिशीलता र राजनीतिक दलको भूमिका” विषयको एक गोष्ठीमा ती नेताले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन सम्भव भएको भन्दै अब मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा पनि एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान जारी भई कार्यान्वयनको चरणमा रहे झै वर्तमान सरकार पनि अग्नि परीक्षामा रहेको बताए ।

“हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौँ,” अध्यक्ष प्रचण्डले भने, “तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह देखापर्छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्ष हामीले जित्नुपर्छ । हामी ‘रिल्याक्स’मा छैनौँ, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी सफल हुनुपर्नेछ ।”

गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको स्मरण गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले सरकारमा बहुमत भए पनि देशको समृृद्धिसँगै राष्ट्रिय मुद्दामा कम्युनिष्ट र काँग्रेस मिल्नुको विकल्प नहुने बताए ।

उनले भने– “जुन–जुन बेला कम्युनिष्ट र काँग्रेस मिलेको हुन्छ, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुःख पायो, भूकम्पपछि हामी सबै पार्टी मिल्यौँ र संविधान जारी भयो । गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्दा र हितमा हामी फेरि पनि नमिली सुखै छैन ।”
अध्यक्ष प्रचण्डले कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गरिएको बताउँदै अधिनायकवाद भन्दा पनि देशमा समृद्धि र विकासका लागि विचार मिल्नेहरु मिल्न सम्भव भएको प्रस्ट पारे ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान जारी भइसकेको सन्दर्भमा भाषण भन्दा काम गरेर देखाउन वर्तमान सरकारलाई सुझाव दिए ।

सभापति देउवाले संघ, प्रदेश र स्थानीय तह सञ्चालनमा दीर्घकालीन रुपमा आर्थिक संकट हुने देखिएकाले उत्पादन र आत्मनिर्भरमा जोड दिइनु पर्ने बताए ।

काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनतालाई देशमा गणतन्त्र आएको अनुभूति हुने गरी सरकारले काम गर्नुपर्छ भने ।

नेकपाका नेता सुभाषचन्द्र नेम्वाङले वाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा अब जनभावनाअनुसार काम गर्न सक्नुपर्ने बताए ।