कृषि

कटानसंगै विरुवा रोपेर वन व्यवस्थापन

धनकुटा । एक सय चालिस वर्ष पुरानो सल्लेरी वनको रुख कटान गरी नयाँ बिरुवा रोपेर वन व्यवस्थापन गरिएको छ ।
जिल्ला वन कार्यालयका अनुसार सदरमुकामस्थित धनकुटा नगरपालिका ६ नं वडामा रहेको सल्लेरी वनको पुराना रुख कटान पछि नयाँ बिरुवा रोपिएको हो । गतवर्ष पनि जिल्ला वन समन्वय समितिले बैठकले पनि पुराना रुख काटेपछि नयाँ बिरुवा रोप्ने निर्णय गरी काम शुरु गरेको थियो ।

राणाकालीन समयमा रोपिएको सल्लेरी वनको रुख व्यवस्थापन गर्ने कार्ययोजना अन्तर्गत गत वर्ष ७९ वटा रुख कटान गरिएको थियो भने यस वर्ष ४९ वटा रुख कटान गरिएको छ । वन व्यवस्थापन कार्ययोजनाअनुसार यसवर्ष २०० सल्लाका बिरुवासमेत रोपिएको कार्यालयका प्रमुख कृष्णप्रसाद बस्तीले बताए ।

विसं १९३८ मा बमविक्रम राणाले लगाएको वनमा अधिकांश सल्लाका रुखमात्र छन् । वैज्ञानिक वन व्यवस्थापनमा पुराना सल्लाका रुख काट्ने र नयाँ बिरुवा लगाउने कार्य भइरहेको उहाँले जानकारी दिए।

कार्यालयले गतवर्षदेखि सञ्चालित पानीका मुहान संरक्षण र वन उपभोग नीति बनाई विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यालयसँगै धनकुटा नगरपालिकाले ‘एक नगर एक उद्यान’ र ‘एक घर एक रुख’को अभियान सञ्चालन गरेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

धनकुटा नगर क्षेत्रमा रहेको ऐतिहासिक सल्लेरी वनक्षेको सौन्दर्य हराउन नदिन नगरवासीमा ‘एक घर एक रुख’ अभियानसमेत शुरु गरिएकोे छ । बनको चार वटा ब्लक निर्माण गरिएकामा दोस्रो वर्ष ब्लकका माध्यबाट रु २१ लाख राजस्व बढेको कार्यालयले जनाएको छ ।