पर्यटन/संस्कृति

कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु

ललितपुर । भूकम्प गएको झण्डै तीन वर्षपछि कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।

मन्दिरको पूरै भाग बनाउने कि क्षति पुगेका भाग मात्र बनाउने भन्ने टुंगो नलाग्दा लामो समयसम्म पुनःनिर्माण शुरु हुन सकेको थिएन । पाँचतले सो मन्दिरमा पहिला माथिल्लो दुई तला बनाइने र आवश्यक भए मात्रै अरु तलामा काम हुने योजना गरेर पुनःनिर्माण थालिएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उनी भन्छन्, “दुई तला काम गरेपछि विज्ञसँग समेत सल्लाह गरेर अरुतिर आवश्यक हुँदा मात्रै गरिनेछ ।”

मन्दिरमा पुनः निर्माणको काम नेपाल सरकार आफैंँले गरिरहेको छ । स्थानीयवासीको भावना र विज्ञका सल्लाहानुसार नै काम हुने उनले बताए । मन्दिर भत्काउँदा यहाँको सामानको सुरक्षाका विषयमा स्थानीयवासीले चासो देखाएका थिए ।

कार्यालयले अघिल्लो वर्ष जिल्ला प्रशासन कार्यालयलाई भनेर नियमित प्रहरी गस्ती गराउन थालेको छ । यहाँको गजूरको सुरक्षाकै लागि अहिले दरबार क्षेत्रकै मूलचोकमा राखिएको प्रमुख प्याकुरेल बताउछन् ।

उनी भन्छन्, “नियमित सात जना प्रहरी सुरक्षाका लागि खटिएकाले काम अघि बढाउँदा पनि मन्दिर सुरक्षित छ ।” मन्दिरलाई काठमाडौँ उपत्यकाको पाँचतले मन्दिर पुरानो मन्दिर मानिन्छ । मन्दिरमा सबै सोमबार विशेष गरेर साउनका सोमबार भक्तालुको भीड लाग्ने गरेको छ । पाटनका धेरै स्मारकको काम तीव्र गतिमा अघि बढे पनि विभिन्न अवरोधका कारण केहीको पुनःनिर्माण शुरु भइसकेको छैन ।