समाचार

लक्ष्यअघिनै कटान नियन्त्रण योजना सम्पन्न

बाबियाचौर, म्याग्दी । जलजला गाउँपालिका–३ पुल्चोकमा कालीगण्डकी नदी कटान नियन्त्रणका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिना अघिनै सम्पन्न भएको छ ।

जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, बागलुङले २०७५ असार मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता गरेको नदी किनारमा पक्की पर्खाल निर्माण गर्ने योजना वैशाख अन्तिम साता सम्पन्न भएको हो ।

२०७४ पुस १० गते कालीगण्डकी नदी किनारमा ११५ मिटर लम्बाइ र सात मिटर उचाइ भएको आरसिसी पक्की पर्खाल निर्माणका लागि कार्यालय र सोमरस निर्माण सेवाबीच रु एक करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण सामग्रीको मूल्यवृद्धि र मजदूर अभावका बाबजुद पनि तोकिएको गुणस्तर र परिणामको काम लक्ष्यअघिनै सम्पन्न गरेको सोमरस निर्माण सेवाका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए ।

जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रमअन्तर्गत डिभिजनले कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की संरचना निर्माणका लागि योजना सञ्चालन गरेको छ । नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि सुरक्षित महसुस गरेको पुल्चोकका कृष्ण जिसीले बताए ।

स्थानीयवासी फौजसिंह विश्वकर्माले बाढी र कटानको त्रास हटेर ढुक्कसँग बस्न पाएकोमा खुशी व्यक्त गरे । “कालीगण्डकीको बाढी कतिबेला बस्तीमा पस्छ भन्ने त्रासमा बर्खा कटाउनुपर्ने अवस्थाबाट मुक्त भएका छौँ” विश्वकर्माले भने ।

यसबाट दुईसय घर सुरक्षित भएका छन् । जलजला गाउँपालिका–२ को बगरफाँटमा कालीगण्डकी किनारको ९०० मिटर दूरीमा ६५० थान ग्याबियन पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । ग्याबियन पर्खाल निर्माणका लागि रामकृष्ण कन्स्ट्रक्सनसँग रु ६५ लाखमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिमार्फत जलजला–३ को कालीगण्डकी किनारको ७०० मिटर दूरीमा ५०० थान ग्याबियन जालीको पर्खाल निर्माणका लागि अर्को योजनासमेत सञ्चालन गरिएको डिभिजनका प्रमुख खगेन्द्र भट्टचनले बताए । पहिलो चौमासिकमै ठेक्का सम्झौता गरिएकाले समयमै काम गर्न सफल भएको उनले बताए ।

यसैगरी, म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणणका लागि रु छ करोड २६ लाख पाँच हजार ९२२ को लागतमा कालीपुलस्थित कालीगण्डकीको बाँया किनारमा १२० मिटर र मंगलाघाटस्थित म्याग्दी नदी किनारमा ३२४ मिटर लामो मेसीनरी पर्खाल निर्माण भएको छ । नदी कटानबाट सदरमुकाम बेनी बजारलाई जोगाउने उद्देश्यले बनाइएको पर्खालको उचाइ छ मिटर छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा १०० मिटर आरसिसी पर्खाल निर्माण भएको छ । एक वर्षको ठेक्का सम्झौता भएको यो योजनाको जिम्मा लिएको समानान्तर बिएन जेभीले पाँच महिनामै गत चैतमा सम्पन्न गरेको थियो ।

कालीगण्डकी किनारमा ३८० मिटर आरसिसी पर्खाल निर्माण गर्न रु पाँच करोड आठ लाख ३२ हजारमा सम्झौता गरेको खड्का कृष्ण जेभीले पनि कामलाई तीव्रता दिएको छ ।