पु.समाचार

एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ ।

सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम, टुर्मालिन, काइनाइटलगायतका खानीबाट रोजगारीको अवसर प्रदान गरिएको जानकारी दिए । चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.६ प्रतिशत रहेको उनले बताए।

विभागले एकअर्ब सात करोड टन चुनढुंगा अन्वेषण भएको जनाएको छ, जसमा ५४ करोड टन प्रमाणित, ११ करोड टन अर्धप्रमाणित तथा ४२ करोड टन सम्भाव्य रहेको छ ।

चालू आवको आठ महिनामा आठ हजार ४५० टन प्रतिदिन क्षमताका १३ उद्योग सञ्चालनमा रहेको र १० वटा निर्माणाधीन अवस्थामा रहेका छन् । सिमेन्ट उद्योगको खानी क्षेत्रसम्म सडक तथा विद्युत् प्रसारण लाइन निर्माणमा सरकारले प्राथमिकता दिएकाले सिमेन्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेख्य सफलता भएको विभागले जनाएको छ ।

यस्तै, नवलपरासीको धौवादी फलाम खानी भण्डारको अन्वेषण कार्य अन्तिम चरणमा पुगेको, ललितपुरको फूलचोकी र रामेछापको ठोसे फलाम खानी तथा पर्वत फलाम खानी उद्योगको प्रवर्धन हुनुका साथै मुस्ताङमा युरेनियम अन्वेषण कार्य भइरहेको प्रवक्ता झाले बताए ।