शिक्षा

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

फलेवास, पर्वत । यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ ।

पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून संकायका कक्षा सञ्चालनको तयारी गरिएको हो । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागेको विद्यालयले जनाएको छ । कानून विषयमा पढ्नका लागि विद्यार्थी पोखरा, काठमाडौँलगायतका शहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी कानून विषयका कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक यामप्रसाद शर्माले जानकारी दिए ।

बदलिँदो समय र परिवेशअनुसार शिक्षामा परिवर्तन हुन नसकिरहेको गुनासो बढ्दै जाँदा शैक्षिक सुधारको योजनासँगै यस क्षेत्रका विद्यार्थीको उज्वल भविष्यका लागि कानूनका कक्षा सञ्चालन गर्न लागिएको प्रअ शर्माले जानकारी दिए । यसै शैक्षिक सत्रदेखि कानूनका कक्षा सञ्चालन भएसँगै एसइई दिएर बसेका विद्यार्थी लाभान्वित हुने भएका छन् । ठूलो रकम खर्च गरी कानूनकै विषय अध्ययन गर्न काठमाडौँ, पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने शर्माको विश्वास छ ।

कानून विषयमा अध्ययन गर्ने विद्यार्थी देशकै सम्माननीय पद प्रधान न्यायाधीससम्मको स्थानमा पुग्न सक्ने भएको भन्दै प्रअ शर्माले कानून संकायमा पछिल्लो समयमा विद्यार्थीको आकर्षणसमेत रहेको बताए ।

सामुदायिक विद्यालयमा उत्पादन हुने विद्यार्थी दक्ष नभएकै कारण रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेको अवस्थामा कानूनको पठनपाठन सञ्चालन भएसँगै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतासमेत अन्त्य हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पन्तले बताए ।

यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्न लागिएको ११ कक्षामा कानूनका अतिरिक्त शिक्षा शास्त्रका कक्षासमेत सञ्चालन गरिने जनाइएको छ । लिमिठाना माविमा कानूनको कक्षा सञ्चालन भएसँगै पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी तथा म्याग्दीका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।