पु.समाचार

सालकको खपटासहित दुईजना पक्राउ

इलाम । सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् ।

मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोलाबाट प्रहरीले आइतबार दुर्लभ सालकको खपटा बरामद गरेको थियो । उनीहरूको साथबाट ४।२ किलोग्राम सालकको खपटा बरामद गरेको जिप्रका इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

बलात्कार आरोपमा आठवर्ष कैद

यसैबीच, १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका–९ का २० वर्षीय सुरेन्द्र सार्कीलाई जिल्ला अदालत इलामले सोमबार आठ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले जबर्जस्ती करणी महलको ३ (२) बमोजिम आठवर्ष कैद र रु १० हजार पीडितका नाममा क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

सार्कीले पीडित बालिकालाई घुमाउन लैजाने बहानामा एक वर्ष अघि होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।