राजनीति

समतामूलक समाज निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्नेछः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस, २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उहाँले आज शुभकामना सन्देश दिँदै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनान्दोलनमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्र दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भनी शुभकामना पनि दिएका छन् ।