देश

देउवा सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै बालुवाटारमा धर्ना

काठमाडौँ । मेरुदण्ड भाँचिई पक्षाघात भएका व्यक्तिलाई जीविकोपार्जनका लागि भत्ता माग गरी बालुवाटारमा धर्ना दिइएको छ ।

स्पाइनल कर्ड इञ्जुरी संघर्ष समितिले विसं २०७४ पुस १३ गते शेरबहादुर देउवाको सरकारले घोषणा गरेको रकम लागू गर्नुपर्ने माग गर्दै आज बालुवाटारमा धर्ना दिएको हो । संघर्ष समितिका सदस्य भरतबहादुर कार्कीले अघिल्लो सरकारले स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिलाई प्रतिमहिना रु पाँच हजार सहयोग दिने घोषणा गरे पनि वर्तमान सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेकाले आन्दोलनमा उत्रनुपरेको बताए ।

“अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पाँच दिन अगाडि नै ज्ञापनपत्र बुझायौँ तर सुनुवाइ नभएकाले हामीहरु सडकमा आउनुपरेको हो,”, उनले भने ।