शिक्षा

बुटवल उपमहानगरपालिकाद्वारा छ हजार विद्यार्थीलाई छात्रवृत्ति

बुटवल । बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छ हजार ६९६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उपमहानगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत र मावि तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

आधारभूत तहमा अध्ययनरत् ३ हजार ९९६ जनालाई जनही रु ४००, दलित समुदायका आधारभूततर्फ दुई हजार २४८ विद्यार्थीलाई जनही रु ४०० र मावि तहका ३८२ विद्यार्थीलाई जनही रु ५०० का दरले छात्रवृत्ति वितरण गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।

छात्रवृत्तिका लागि उक्त रकम उपमहानगरपालिकाले सम्बन्धित विद्यालयको तथ्यांकका आधारमा उपलब्ध गराएपछि आज सबै सामुदायिक विद्यालयमा एकै साथ वितरण भएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

उपमहानगरमा ३८ वटा सामुदायिक विद्यालय रहेका छन् भने संस्थागत विद्यालयको संख्या ६२ वटा रहेका छन् ।

कतिपय सामुदायिक विद्यालयले उपमहानगरपालिकाले पठाएको रकमका अतिरिक्त विद्यालयमा स्थापना भएका कोषबाट पनि केही छात्रवृत्ति वितरण गर्दै आएका छन् ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५७२ जना विद्यार्थीका लागि आवश्यकपर्ने पाठ्यपुस्तकको रकम विद्यालयको खातामा यसअघि नै निकासा गरिसकेको छ । त्यस्तै, ७०० अति विपन्न छात्रछात्रालाई हाजिरीका आधारमा दैनिक रु २० बराबरको खाजा व्यवस्थापनका लागि रकम उपलब्ध गराउँदै आएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

उपमहानगरले यसअघि विद्यालय भर्ना अभियान प्रभावकारीरुपमा सञ्चालन गरेको थियो । त्यसक्रममा विद्यालयमा भर्ना हुन नसकेका बालबालिकालाई खोजी खोजी भर्ना गराइएको थियो ।

नगरपालिकाले शिक्षा ऐन पारित गरिसकेको र नगर शिक्षा नियमावलीको मस्यौदा छलफलको चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।