साहित्य

राष्ट्रकवि घिमिरेको उपचार अब क्याविनमा

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट आज क्याविनमा सारिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिईन् । उनले भनिन्, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उहाँको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उहाँलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरी अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्कनुहुनेछ । सरकारले घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।