आर्थिक

गरीबी निवारण कोषबाट १० लाख घरधुरी लाभान्वित

काठमाडौँ । गरीबी निवारण कोषले हालसम्म ४० जिल्लामा सञ्चालन गरेका विभिन्न व्यावसायिक कार्यक्रमबाट नौ लाख ८४ हजार ४२१ घरधुरी लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा ३१ पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी ४२५ सहकारी गठन गरिएको उल्लेख छ । गरीब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममार्फत प्रतिव्यक्ति अधिकतम रु दुई लाखसम्म विनाधितो ऋण उपलब्ध गराइने व्यवस्था छ । अठार वर्षदेखि ५० वर्षसम्मका युवा वर्ग सो कार्यक्रमका लक्षित वर्ग हुन् ।

चालु आवको प्रथम आठ महीनामा सो कार्यक्रममार्फत रु पाँच अर्ब ८० करोड ६५ लाख लगानी भएकामा रु तीन अर्ब दुई करोड असुली भएको छ । युवा तथा स्वरोजगार कार्यक्रममार्फत ४४ हजार ८१० जना स्वरोजगार बनेका छन् । सोही अवधिमा १२ हजार ६२२ जनालाई अभिमुखीकरण र ६५८ जनालाई सीपमूलक तालीम प्रदान गरिएको छ ।

गरीबी मापनलाई यथार्थपरक बनाउन २६ जिल्लामा गरीब घर परिवार पहिचान सर्वेक्षण भएको छ । कूल १२ लाख २४ हजार ४१७ घरपरिवार विश्लेषण गरिएकामा तीन लाख ९१ हजार ८३१ घरपरिवार गरीबका रुपमा पहिचान भएका छन् । एक लाख ८८ हजार २३५ घरपरिवार अति गरीब र एक लाख १९ हजार ७४८ घरपरिवार मध्यम छन् । त्रियासी हजार ८४८ घरपरिवार सामान्य गरीबका रुपमा वर्गीकरण गरिएको छ ।

कोषबाट लक्षित समुदायका आयमूलक, सामुदायिक पूर्वाधार विकास, नवीनतम र भूकम्पसम्बन्धी कार्यक्रम गरी पाँच हजार ४०१ परियोजना कार्यान्वयन गर्न सामुदायिक संस्थामार्फत रु २८ करोड पाँच लाख परिचालन भएको छ । गत आवमा १० हजार ९६९ परियोजना कार्यान्वयन गर्न रु एक अर्ब ८४ करोड ६१ लाख परिचालन गरिएकामा चालु आवको प्रथम आठ महिनामा रु १३ अर्ब ३३ करोड २१ लाख परिचालन भएको छ ।

देशमा रोजगारीको अवसर पर्याप्त नभएका कारण वैदेशिक रोजगारको आकर्षण बढेको पाइएको छ । हाल दैनिक करीब एक हजार युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेशिने गरेका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १।५, अर्धदक्ष २४ र अदक्ष ७४।५ प्रतिशत छन् । पछिल्लो श्रमशक्ति सर्वेक्षणानुसार नेपालमा बेरोजगारी दर २।३ प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको अनुमान गरिएको छ ।