राजनीति

बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिनेबारे विवेकशील साझाले यसो भन्यो

काठमाडौं । बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिनेबारे विवेकशील साझा पार्टीको धारणा सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहर भई हाल कैदको सजायँ भोगिरहेका बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गर्ने सरकारी तयारी प्रति विवेकशील साझा पार्टीले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हो ।

पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, सशस्त्र द्वन्द्वकालका घटनाहरु मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गरिने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सम्मानित अदालतको फैसलाबाट यस अघि नै स्पष्ट भैसकेको छ ।

पीडितका लागि खतरा समेत रहेका व्यक्तीलाई सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु भन्दै विज्ञप्तीमा अघि भनिएको छ, गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो ।

पार्टीले ढुंगेललाई माफी दिने सरकारको तयारीको पूर्ण विरोध र पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न सरकारलाई खबरदारी गरेको छ ।