स्वास्थ्य

प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो वर्षमा उल्लेखनीय सुधार

काठमाडौँ । प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ ।

प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतमा प्रगति देखिएको हो ।

अघिल्लो वर्ष प्रजनन दर (प्रतिमहिला) २।३ थियो भने यसपटक २।१ मा घटेको छ । आव २०७४/७५ को आर्थिक सर्वेक्षणका अनुसार परिवार नियोजनको साधन प्रयोग दरमा गत वर्षको भन्दा तीन प्रतिशतले वृद्धि भएको छ । आर्थिक सर्वेक्षणअनुसार चार लाख ५० हजारले परिवार नियोजनको साधन प्रयोग गरेका थिए । स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार आएको छ ।

नवजात शिशुमृत्युदर (प्रतिएक हजार जीवित जन्ममा २८ दिनभित्र) २१ बाट १७ मा झरेको छ । समग्र स्वास्थ्य क्षेत्रको उल्लेखनीय सुधारका रुपमा यसलाई लिइन्छ । स्वास्थ्य मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत आमा सुरक्षा कार्यक्रम रहेको छ ।

यसैगरी, शिशु मृत्युदरमा सुधार देखिएको छ । शिशु मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा जन्मेको एक वर्षभित्र) २६ मा झरेको छ । अघिल्लो वर्षसम्म ३२ रहेको थियो । यस वर्षको आर्थिक सर्वेक्षणले पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा) ३९ बाट ३० मा झरेको देखाएको छ ।

पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी प्रजनन स्वास्थ्य, आमा सुरक्षा कार्यक्रमका कारण पछिल्लो वर्षमा यस क्षेत्रमा सुधार आएको बताउँछन् । यसैगरी, प्रजनन स्वास्थ्यको अर्को महत्वपूर्णको पक्ष गर्भवती भएपछि स्वास्थ्य सस्थामा सेवा (गर्भ जाँच) लिने महिलाको पनि संख्यामा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक सर्वेक्षणमा यस्ता जाँच गराउने महिलाको संख्या ६९ प्रतिशतबाट वृद्धि भई ७२ प्रतिशत पुगको छ । यसैगरी, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्यामा समेत उल्लेख्य वृद्धि भई ७२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ५७ प्रतिशत मात्र रहेको थियो ।

अर्कोतर्फ बाल स्वास्थ्यको महत्वपूर्ण क्षेत्र खोपमा भने खासै सुधार हुन सकेको छैन । अघिल्लो आर्थिक सर्वेक्षणमा पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशत ७८ प्रतिशत रहेकामा यस वर्ष दुई प्रतिशत मात्र वृद्धि भई ८० प्रतिशत पुगेको छ । सरकारको उच्च प्राथमितका प्राप्त कार्यक्रममा खोप कार्यक्रम रहेको छ । पोलियो थोपा, बिसिसी, हेपाटाइटिस, लगायतका ११ प्रकारका खोप निःशुल्क रुपमा प्रदान गर्ने गरिन्छ ।

हालसम्म पनि स्वास्थ्य केन्द्र हस्तान्तरण गर्ने कार्य सम्पन्न हुन सकेका छैनन् । स्थानीय निकायलाई स्वास्थ्य केन्द्र हस्तान्तरण गर्ने कार्य सम्पन्न हुन नसकेको आव २०७४/७५ को आर्थिक सर्वेक्षणले जनाएको छ । १२३ अस्पताल, ३८२ आयुर्वेद अस्पताल तथा औषधालय, जनस्वास्थ्य, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य गरी चार हजार ७१८ स्वास्थ्य संस्था रहेका छन् । जनस्वास्थ्य, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य कति हस्तान्तरण गर्न कति बाँकी रहेको छ सर्वेक्षण मौन रहेको छ ।

सर्वेक्षणअनुसार ती स्वास्थ्य प्रदायक सस्थाबाट एक वर्षको अवधिमा एक करोड २३ लाख जनताले सेवा लिएका थिए । तीमध्ये ६ लाख ८५ हजार भर्ना भएको थिए भने ११ लाख १७ हजारले आकस्मिक सेवा लिएका थिए ।

सर्वेक्षणअनुसार एक वर्षको अवधिमा दुई लाख ३२ हजार गर्भवती महिलामा एसआइभी परीक्षण गरिएको थियो । यसैगरी, मिर्गौला प्रत्यारोपणका क्षेत्रमा उल्लेखनीय सुधार आएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गत वर्ष १३२ जना गरिएकामा यस वर्ष १५० जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

बीमा कार्यक्रम विस्तार हुँदै

सर्वेक्षणअनुसार हालम्म ६ लाख १० हजार जनता बीमामा आबद्ध भइसकेका छन् । निःशुल्क स्वास्थ्य कार्यक्रमअन्तर्गत २५ श्यया सम्मका अस्पतालबाट ७० प्रकार, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८, स्वास्थ्य चौकीबाट ३१ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ ।

सर्वेक्षणअनुसार नेपाल नर्सिङ काउन्सिलमा ८३२ विदेशी नर्ससहित ४९ हजार ८६६ नर्स र २९ हजार ६६१ अनमी दर्ता भएको र नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको संख्या २१ हजार ४१३ पुगेको रहेको छ ।