समाचार

मस्र्याङ्दी करिडोरको विद्युत् खेर जान नदिन प्राधिकरण क्रियाशील

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट पनि विद्युत् खेर जान नदिने गरी तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको भन्दै सो अवधिमा सबस्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता जनाउनु भएको छ । उनले प्रसारण लाइन तथा सबस्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

“दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारण लाइन नबनाइदिँदा विद्युत् खेर जाने अवस्था रहेको गुनासो थियो तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो”, उनले भने, “ती आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउँछौँ, प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन दिँदैनौँ ।”

प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिँदा विद्युत् खेर जाने अवस्था आउन लागेको भन्दै निजी उत्पादकले आलोचना गरेपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत् आयोजनाको अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिनु भएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा गएका हुन् । टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारिकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सब स्टेसनको निरीक्षण गरेको थियो ।

यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ‘ख’ र बुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निरीक्षण गरेको थियो ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । सो प्रसारण लाइन आगामी १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।

कीर्तिपुरमा सबस्टेसन निर्माण हुने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ले विद्युत् गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम शुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई निर्माणस्थल उपलब्ध गराउन सकिएको छैन ।

“सबस्टेसन बन्ने जग्गामा ढुंगा माटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारण लाइन बनाइदिएन, बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?”, घिसिङले आयोजनाका कर्मचारीलाई निर्देशन दिँदै भने, “तत्काल त्यसलाई हटाउनुहोस् नत्र तपार्इंहरुका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरिवाना तिराउँछौँ ।”

माथिल्लो दोर्दी ‘ए’ को प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक डा आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो हटाउने प्रतिबद्धता जनाएका छन् । सो आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिँदै घिमिरेले सन् २०१८ को अन्त्यसम्म आयोजना निर्माण सम्पन्न हुने दाबी गरे । प्राधिकरणसँग भएको विद्युत् खरीद बिक्री सम्झौताअनुसार आयोजनाको व्यावासायिक रुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति भने अगस्त २०१९ रहेको छ ।

हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । सम्झौताअनुसार आयोजनाको विद्युत् उत्पादन मिति अगस्त २०१९ नै रहेको छ । प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताए ।

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत् प्रवाह गर्न उदिपुरमा सबस्टेसन निर्माण गर्नुपर्नेछ । सबस्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजनाले जनाएको छ । उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनवरी २०१८ बाट ठेक्का कार्यान्वयनमा गइसकेको छ ।