समाचार

विज्ञानमा महिला पुरस्कारका लागि विजेता घोषणा

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले स्थापना गरेको विज्ञानमा महिला पुरस्कारका लागि यस वर्षका विजेता घोषणा गरिएको छ ।

नासो विज्ञानमा महिला पुरस्कार–२०१८ को व्यावसायिक विधातर्फ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियर पदमा कार्यरत प्रोमिशा मिश्रलाई दिइनेछ । यसैगरी विद्यार्थीतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत सुश्री श्रीति श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

पुरस्कार जेठ १६ गते बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने विशेष कार्यक्रममा अन्तरीक्षयात्री डा सान्द्रा म्यागनसले वितरण गर्नेछन् ।

पुरस्कारस्वरुप इन्जिनियर मिश्रलाई नगद रु २५ हजार, प्रमाणपत्र तथा अवार्ड प्रदान गरिनेछ । सुश्री श्रेष्ठलाई नगद रु १५ हजार, प्रमाणपत्र तथा अवार्ड प्राप्त गर्ने नासोले जनाएको छ ।

पुरस्कारको राशि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा नासोका संरक्षक इन्जिनियर ऋषि शाहले स्थापना गरेका हुन् । यसैगरी अवार्ड नासोकी सञ्चालक समिति सदस्य इन्जिनियर मनिषा द्वाले स्थापना गरेका हुन् ।

गत वर्षदेखि प्रदान गरिएको यो पुरस्कारका लागि यस वर्ष ४० आवेदन परेको नासोले जनाएको छ ।