आर्थिक

आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

विराटनगर । गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ ।

विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा घोषित भएपछि २४० वर्षको राजतन्त्रको अन्त्य भयो ।

गणतन्त्र स्थापना भए पनि लामो समयसम्म मुलुकमा राजनीतिक अस्थिरता कायम रह्यो । सोही अवधिको सुखद पक्षका रुपमा संघीयतासहितको संविधान जारी हुनु, सातवटा प्रदेशको निर्माण र स्थानीय तहको संरचनामा परिवर्तनलगायतका कार्य भए ।

नयाँ संविधानअन्तर्गत स्थानीय तह, संघीय संसद्का साथै सातवटै प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । केन्द्र र प्रदेशहरुमा सवल सरकार गठन भएको छ । मुलुकमा राजनीतिक स्थिरता पनि कायम भइसकेकाले अब कुनै बहाना नगरी जनताको चाहना र आकाङ्क्षालाई पूरा गर्न बढी केन्द्रित हुनुपर्ने सर्वसाधारण जनताको चाहना रहेको छ ।

यस सम्बन्धमा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेकाले मुलुकको उन्नतिका लागि आर्थिक समृद्धि आवश्यक रहेको सुझाव दिएका छन् ।

मुलुकले सफलतापूर्वक पहिलो खुड्किलो पार गरिसकेको छ । राजनीतिक स्थिरता पनि कायम भइसकेको छ । तसर्थ, कुनै बहाना नगरी कृषि र उद्योगको विकासमा केन्द्रित हुनुपर्ने उनले बताए ।

साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितले विरोधका लागि विरोध होइन, अब केको विरोध गर्ने अब मुलुकको आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।

पार्टी र व्यक्तिबाट माथि उठेर देशलाई केन्द्रमा राखेर कार्य गर्र्नु आवश्यकता रहेको भन्दै उनले मुलुकमा स्थिरता कायम गर्न जनताले राम्रो अवसर दिएको छ । यसलाई सदुपयोग गर्न नसके मुलुकमा अस्थिरता बढ्न सक्नेछ ।

दुवै छिमेकी मुलुकले गरेको उन्नतिबाट केही फाइदा लिनुपर्ने र जनतालाई अल्छी त्याग्नु पर्ने, सरकारले नै सबै कार्य गरिदिने मानसिकता त्याग्नुपर्ने भावना जागृत हुनुपर्ने उनको सुझाव रहेको छ ।

विराटनगरका युवा व्यापारी अञ्जन मिश्रले मुलुकको सामाजिक र आर्थिक क्षेत्रको उन्नतिका लागि प्रत्येक क्षेत्रमा समावेशी आवश्यक रहेको बताउँछन् ।