कृषि

मौरीपालनका लागि मौरी र घार वितरण

रत्ननगर, चितवन । मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ ।

राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच जनालाई ८५ प्रतिशत अनुदानमा मौरीसहित ५५ घार वितरण गरिएको र राप्ती नगरपालिकाद्वारा ७५ प्रतिशत अनुदानमा १० किसानलाई ६० वटा मौरीसहितको घार वितरण गरिएको हो । मोरीपालन विस्तारका लागि यहाँका १३ किसानलाई १५० वटा मौरीको खाली घार वितरण गरिएको राप्ती नगरपालिका कृषि शाखाका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।

यस्तै आर्थिक सहभागिता रहने गरी रु ६६ हजार लगानीमा दुई किसानलाई मह मदानीसमेत वितरण गरिएको छ । राप्ती नगरपालिकामा व्यावसायिक रुपमा मौरीपालनमा लागेका २५० किसान छन् । यहाँ चार हजारभन्दा बढी मौरीका घार रहेको कोराक लोथर मौरी पकेट समितिका अध्यक्ष रामबाबु तामाङले बताए ।