शिक्षा

दुई विद्यालय भवन समुदायलाई हस्तान्तरण

मलेखु, धादिङ । एक गैरसरकारी संस्थाले निर्माण गरेको दुई सामुदायिक विद्यालयका दुई वटा भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ ।

०७२ वैशाख १२ को भूकम्पपछि ध्वस्त भएको गजुरी गाउँपालिका–६ मा रहेको जनचेतना आधारभूत विद्यालय र पुकुन आधारभूत विद्यालय आइतबार आयोजित एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले विद्यालय हस्तान्तरण गर्दै समुदायले नयाँ भवनलाई व्यवस्थित गर्दै शैक्षिक सुधारमा ध्यान दिन आग्रह गरे ।

युनाइटेड मिसन टु नेपालले प्रयास नेपालको साझेदारीमा निर्माण सम्पन्न गरेको जनचेतना आधारभूत विद्यालयमा रु २३ लाख ७६ लाख र पुकुन आधारभूत विद्यालयमा रु २२ लाख ६० हजार खर्च भएको छ । जनचेतनामा ७४ विद्यार्थी अध्यानरत छन् भने पुकुनमा ७० जना विद्यार्थी अध्यानरत रहेका छन् ।

युनाइटेड मिसन टु नेपालले प्रयास नेपालको साझेदारीमा निर्माण गरेको गजुरी र बेनीघाट रोराङमा निर्माण गरेको थप ३९ वटा दुईकोठे भवन समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।