स्वास्थ्य

बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

इटहरी । सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ ।

बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी ती क्षेत्रमा रहेका विभिन्न विद्यालय र स्थानीयले चर्पी प्रयोग गर्न थालेपछि उक्त नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी खुुला दिसामुक्त नगर घोषणा गरेको हो ।

युएन ह्याविट्याटको सहयोगमा जिल्ला सरसफाइ स्वच्छता समन्वय समिति खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी सुनसरीको सक्रियतामा नारी विकास संघ र प्रयास नेपाल एवं स्थानीय बराहक्षेत्र नगरपालिका समेतको साझेदारीमा उक्त नगरपालिकाभित्र सबै घरले चर्पी निर्माण गरी प्रयोग गर्न थालेकाले बराहक्षेत्रलाई पूर्ण सरसफाइतर्फ उन्मुख गराउनका लागि त्यस्तो घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्मा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंह र बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले नगरलाई खुला दिसामुक्त घोषणा गर्नुहुँदै अब यस नगरको पूर्ण सरसफाइ अभियान अघि बढ्ने प्रतिबद्धताको समेत उद्घोष गरेका छन् ।

उक्त अवसरमा विभिन्न जातजातिका वेषभूषासहितको झाँकीसँगै विभिन्न विद्यालयका शिक्षक विद्यार्थीले चर्पी अभियान र सरसफाइ विषयमा सचेतनामूलक नारा लेखिएका व्यानर पोस्टर र प्लेकार्डसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर बराहक्षेत्र नगर सफा राख्ने दायित्व हाम्रो हो भन्ने सन्देश प्रवाह गरेका थिए ।