पर्यटन/संस्कृति

तारे होटलको संख्या एक सय २५ पुग्यो, संख्यामा बृद्धी

काठमाडौँ । सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ । यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो ।

संघीय संसद्मा आज अर्थमन्त्रीले पेश गरेको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार आलु आवको आठ महिनामा तारा स्तरको होटल संख्या १२५ पुगेको छ । अघिल्लो आव २०७३/७४ मा तारा स्तरको होटल संख्या १२० थियो ।

तारास्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३/७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ । यही अवधिमा २५१ घरबास कार्यक्रम ‘होमस्टे’ सञ्चालनमा रहेका छन् ।

तारा स्तरका होटलको शय्या संख्या आव २०७३/७४ मा १० हजार ७७ भएकामा चालु आवको प्रथम आठ महिनासम्ममा १० हजार ६९७ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार तारा होटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या चालु आवको प्रथम आठ महिनासम्ममा २९ हजार १३६ पुगेको छ । सोअनुरुप चालु आवको प्रथम आठ महिनासम्ममा पर्यटकस्तरीय होटलको संख्या एक हजार १०२ र शय्या संख्या ३९ हजार ८३३ रहेको छ ।

गत आवमा पाँच क्यासिनो सञ्चालन भएकामा चालु आवको प्रथम आठ महिनामा दुई क्यासिनो थप भई हाल सात क्यासिनो र चार मिनीक्यासिनो सञ्चालनमा रहेका छन् ।

पर्यटनबाट ५८ अर्ब आम्दानी

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा लिइने पर्यटन क्षेत्रबाट ५८ अर्ब भन्दा बढी विदेशी मुद्रा आर्जन भएको छ ।

आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार पर्यटन क्षेत्रबाट रु ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको पाइएको हो । यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.३ प्रतिशत, कूल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत, आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.१ प्रतिशत र कूल गाह्स्थ उत्पादनको अनुपातमा २.३ प्रतिशत हो ।

चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.४ प्रतिशत, कूल वस्तु निर्यात एवं सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २५.४ प्रतिशत र आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

पर्यटकको बसाइँ अवधि घट्दै खर्च बढ्दै

अघिल्लो वर्षको तुलनमा नेपाल घुम्न आउने पर्यटकको बसाइँ अवधि घटेको छ । बसाइँ अवधिमा खर्च भने बढ्दै गएको देखिन्छ । सन् २०१७ माप्रति पर्यटक औसत १२.६ दिनको बसाइँ अवधि रहेको छ भने प्रतिदिन प्रतिपर्यटक खर्च ५४ अमेरिकी डलर छ । सन् २०१६ मा प्रतिपर्यटक बसाइँ अवधि औसत १३.४ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ५३ अमेरिकी डलर थियो ।

यसरी सन् २०१७ मा पर्यटक आगमनमा वृद्धि भए पनि पर्यटकको औसत बसाइँ अवधि घटेको छ । सन् २०१७ मा करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए ।