आर्थिक

सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन

काठमाडौँ । चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा आव २०७३/७४ ९गत वर्ष० मा रु १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम आठ महिनामा अहिले करीब २५ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको आठ महिनासम्ममा ८२ प्रतिशत सरकारी क्षेत्र र १८ प्रतिशत गैरसरकारी क्षेत्रका करीब तीन हजार बढी संगठित संस्था सामाजिक सुरक्षा करको दायरामा आएका छन् ।

उक्त करमा योगदान गर्नेको संख्या २० लाख पुगेको छ । सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि स्थापना भएको कोषमा चालु आवको प्रथम आठ महिनासम्ममा रु ६७ करोड पुगेको छ । प्रतिवर्ष करीब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गरेका छन् ।

श्रमिक सचेतना कार्यक्रम सञ्चालन

चालु आवको आठ महिनामा कूल १३ हजार ५९ जनालाई शीप विकास तालीम प्रदान गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा तीन हजार ५०९ महिला र नौ हजार ५५० पुरुषलाई व्यावसायिक तालीम उपलब्ध गराइएको उल्लेख छ । आव २०७३/७४ मा तालीम लिनेको कूल संख्या २० हजार ६६ थियो ।

देशमा रोजागारीको अवसर पर्याप्त नभएका कारण वैदेशिक रोजगारको आकर्षण बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४.५ प्रतिशत रहेका छन् । संस्थागतरुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लागि खुला गरिएको जनाइएको छ । चालु आवमा जोर्डनसँग आप्रवासन श्रमसम्बन्धी सम्झौता भएको छ ।

पछिल्लो श्रमशक्ति सर्भेक्षणअनुसार नेपालमा बेरोजगारी दर २।३ प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको अनुमान गरिएको छ । हाल दैनिक करीब एक हजार युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेशिने गरेका छन् ।

आव २०७३/७४ मा एक हजार २४५ गैरनेपाली नागरिकलाई श्रम स्वीकृति प्रदान गरिएकामा चालु आवको आठ महिनामा एक हजार ३५ लाई स्वीकृति दिइएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालीम दिने १५८ संस्था रहेकमा काठमाडौँ उपत्यकामा मात्र सो संख्या ११६ छन् ।

आव २०७३/७४ मा ५७१ जनाको श्रम स्वीकृति नवीकरण गरिएकामा चालु आवको आठ महिनामा ५८८ जनालाई नवीकरण गरिएको छ । वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कारोबार गर्ने प्रयोजनका लागि हालसम्म आठ वटा बैंक विद्युतीय प्रणालीमा आबद्ध भएका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या २३४ पुगेको छ ।

आव २०७३/७४ सम्ममा वैदेशिक रोजगारमा जानेको संख्या ४० लाख तीन हजार ४७४ पुगेको छ, यसमध्ये ३८ लाख २८ हजार १७२ पुरुष र एक लाख ७५ हजार ३०२ महिला छन् ।

त्यसैगरी चालु आवमा मलेसिया र खाडी मुलुकमा १० वटा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नका साथै विदेशमा मृत्यु भएका श्रमिकको क्षति क्षतिपूर्ति दाबीका लागि कानूनी र प्रक्रियागत सहजीकरण भएको छ ।

गत आवमा वैदेशिक रोजगारका क्रममा विदेशमा निधन भएका ७५५ जना मृतकका परिवारलाई आर्थिक सहायता रकम उपलब्ध गराइएकामा चालु आवको प्रथम आठ महिनासम्म सो संख्या ५५२ रहेको छ ।

गत आवमा विदेशमा बिरामी तथा अंगभंग भएका कामदारको संख्या २०६ रहेकामा चालु आवको प्रथम आठ महिनासम्म सो संख्या २२४ पुगेको छ ।