खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र प्रदेश ७ को विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र प्रदेश नम्बर ७ ले विजयी सुरुआत गरेका छन् । एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो ।

राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले मध्यक्रममा शानदार इनिङ खेलेपछि प्रदेश ४ पोखराले दिएको २४० रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । चौका प्रहार गर्दै टिमलाई जित दिलाएका रोहितले ४१ बल खेलेर ७३ रन प्रहार गरे । छैटौं नम्बरमा ब्याटिङमा आएका रोहितले ३ छक्का र १० चौका प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत बने ।

ओपनर आसिफ शेख दोस्रो ओभरमै ५ रनमा र तेस्रो नम्बरमा आएका अनिल शाह तेस्रो ओभरमा १ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि एपीएफ सुरुमै दवावमा परेको थियो । तर, अर्का ओपनर सुवास खकुरेल र प्रदीप ऐरीले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरी टिमलाई सहज अवस्थामा पुर्याए ।

१८औं ओभरमा ऐरी ३७ रनमा आउट हुँदा २५औं ओभरमा अर्धशतक नजिक पुगेर खकुरेल पनि आउट भए । उनले ६१ बल खेलेर ४८ रन बनाए । इन्ज्यूरीपछि पहिलो एकदिवशीय प्रतियोगिता खेलेका सुवासले उत्कृष्ट पुनरागमन गरेका छन् ।

त्यसपछि आएका पृथु बास्कोटा र रोहितले एपीएफलाई सम्मानजनक जित दिलाएका हुन् । यी दुईले पाचौं विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । पृथुले ५३ बलमा ५३ रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टियू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ४ ले बलियो मानिएको एपीएफबिरुद्ध उत्कृष्ट व्याटिङ गरी निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

प्रदेश ४ का लागि मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे । उनका अलावा कप्तान बिधान श्रेष्ठले ४३, विपिन खत्रीले २७ र अनिल गुरुङले २१ रन बनाए । उसले ३८ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले ३ तथा अमरसिंह रौतेलाले २ विकेट लिए ।

यता मुलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर सातले कर्णाली प्रदेशलाई ४८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाएको थियो । प्रदेश ७ का लागि सन्जु दमाईले अर्धशतक पार गर्दै ५४ रन र सुनिल चन्दले २५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ टेक सलामी एक्लैले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ८.३ ओभरमा जम्मा १२ रन दिएका थिए । १२६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २२.२ ओभर खेल्दा ७७ रनमा अलआउट भयो । कर्णालीका रवीन्द्रजंग शाहीले ३६ तथा दिवान पुनले १३ रन बनाउँदा अन्यको प्रदर्शन खराब रह्यो ।

कर्णालीलाई सस्तैमा समेट्नका लागि म्यान अफ द म्याच शेर मल्लले ५ विकेट लिए भने विनोद लामा र सन्तोष भट्टले २–२ विकेट लिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामाटेण्डी शेर्पा, राखेप सदस्यसचिव केशवकुमार विष्ट लगायतको उपस्थिति थियो ।

पहिलो पटक संघीय संरचनाअनुसार आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन बिभागीय टोलीको सहभागिता छ । प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलहरुमा टियू मैदानमा नेपाल पुलिस र प्रदेश ७ र मूलपानीमा प्रदेश २ र प्रदेश ४ बीच खेल हुनेछ ।