आर्थिक

अल्लोबाट आम्दानी गर्दै महिला

फलेवास । लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई जीविकोपार्जनमा सहयोग पुगेको छ ।

शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा गरी दुई ठाउँ अल्लो प्रशोधन प्रशिक्षण केन्द्र छन् ।

कुश्मामा उन्ले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गरेका छन् । उद्योगबाट उहाँ आफूले मात्र आम्दानी गर्नुभएको छैन अरू महिलालाई पनि उद्यममा आकर्षित गरिरहेको छ ।

केही हजारबाट शुरु गरेको जसमायाको उद्योगमा अहिले करीब रु ४५ लाख लगानी पुगेको छ । उनले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक रु ६० हजारसम्म आम्दानी गर्छन् । विसं २०५७ मा उनले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गर्नुभएको हो । त्यसबखत उनले एउटा हाते मेसिन किनेर धागो निकाल्ने र कपडा बुन्न शुरु गरेका थिए ।

क्याङका धेरैजसो महिला अहिले अल्लो संकलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् । वनमा उपयोगविहीन अल्लो संकलन गरेर राम्रो आम्दानी हुने थाहापाएपछि क्याङका ५० महिला यो व्यवसायमा आवद्ध भएका हुन् ।

वनको चाल्ने सिस्नो खोजेर उनीहरू गाउँमै प्रशोधन गर्छन् । अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी बिना पुनले बताए । “कपडा तयार गर्नसके थोरै धागोबाट रामै आम्दानी हुन्छ,” उनले भने– “भ्याइएन भने धागो पनि बिक्छ ।” तयारी कपडा प्रतिमिटर रु सात सयसम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोशाक पोखरा, काठमाडाँंै र विदेशमा समेत पठाउने गरिएको छ ।

“पहिले घरधन्दामै दिन बित्थ्यो,” उद्यमी झकमायाले भने, “अहिले घरको सबै काम सकेर पनि महिनाको १०–१२ हजार आम्दानी हुन्छ ।” आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गरेको उनले बताए । उनीहरूले स्थानीय खर्सुवास गैराखर्क, ठूलो टाउका र रेसापातल सामुदायिक वनमा अल्लो संकलन गर्छन् ।

विशेषगरी साउनदेखि मंसिरसम्म संकलन गरेको अल्लो फागुनदेखि असारसम्म प्रशोधन गर्ने गरिन्छ । जाडो र चिसो मौसममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्ने गरिन्छ । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने र सुकाउने काम हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महिना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् ।

स्थानीय सामुदायिक वनहरूले निःशुल्क अल्लो संकलन गर्न दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो संकलन गर्ने, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताए ।

यसबाट वन पनि सफा भएको छ र महिलाको आम्दानी बढेको छ । उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न संघ संस्थाले तालीम र उपकरण प्रदान गरी सहयोग गर्ने गरेका छन् ।

जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौंको माथिल्लो भेगको जंगलमा पाइने अल्लोलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्ने गरी कार्यक्रम तय गरेको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिएको छ ।

मोदी गाउँपालिका तीन देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दैआएका छन् । विसं २०७१ पुसमा दुई महिलाले अल्लो प्रशोधन उद्योग शुरु गरेकामा हाल उद्यमीको संख्या ११ पुगेको समूहका अध्यक्ष रनमाया गुरुङले बताए ।

देउरालीका महिलालाई हालै दक्षिण कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने मेसिन सहयोग गरेको छ । यसको प्रयोगबाट पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्न सकिएको छ । देउरालीमा उत्पादन भएका अल्लोका तयारी पोशाकको माग मेसिन सहयोग गरेको कोरियाली कम्पनीले गर्न थालेको छ ।