विचित्र संसार

४ बर्षिय बालिकाले दुनियालाई पारिन् चकित, १ हजार किताब सिध्याईन

काठमाडौं । सामान्य मानिसले आफ्नो जिवनभरमा हजार वटा किताब पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजार भन्दा बढी किताब पढिसकेकी छिन् । डालिया मेरी आरानाले १८ महिनाकी छँदा अक्षर चिनेकी थिइन् र ३ वर्षको उमेरबाट आफैं किताब पढ्न थालेकी थिइन् । उनले अहिलेसम्म १ हजार भन्दा बढी किताब पढेर सिध्याइसकेकी छिन् ।

यति सानो उमेरमै अहिले उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताब पढ्न रुचाउँछिन् । उनले खरर्र पढ्न सक्छिन् र केही लामा शव्दको अर्थ नबुझेमा मात्र अभिभावकको सहयोग लिने गर्छिन् । उनकी आमा हालिमा र बुवा मुगुएलका अनुसार डालियाले जन्मेदेखि नै आफुहरुले पढेको ध्यान दिएर हेर्ने गरेको अनुभव सुनाउँछन् । साथै दिदी दाईले पढ्ने गरेको पनि उनले सानैदेखि ध्यान दिएर सुन्थिन् ।

१८-१९ महिनाकी हुँदासम्म त उनले धेरै अक्षर चिनिसकेकी आमा हालिमा बताउँछिन् । यी बालिकाको पठन क्षमतालाई कदर गर्दै उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइब्रेरी अफ कंग्रेसमा एक दिनका लागि लाइब्रेरियन बनाइयो । लाइब्रेरियन कार्ला हेडनसँग मिलेर उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालिन् ।

दिनभरमा उनले पुस्तकालयमा बैठकमा सहभागी भइन्, भेटघाट गरिन् र पुस्तकालयको निरिक्षण पनि गरिन् ।साथै उनले पुस्तकालय व्यवस्थापनलाई पुस्तकालयमा सेतो बोर्ड टाँग्न सुझाव दिइन्, ता की पुस्तकालयमा आउने बालबच्चाहरुले लेख्न सिक्न सकून् । आगामी सत्रमा किन्डरगार्टनमा भर्ना हुने बेलासम्म १५ सय किताब पढिसक्ने उनको लक्ष्य रहेको छ । -एजेन्सी